आज ५७ औं बाल दिवस, दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश

भदौ २९, काडमाडौं । आज ५७ औं राष्ट्रिय बाल दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । दिवसमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयले अलग–अलग कार्यक्रम आयोजना गर्दैछन् ।

सरकारले हरेक बर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष बाल दिवस मनाईदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन ।

देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार काठमाडौंमा सडक बालबालिकाको अवस्था पनि उस्तै छ । काठमाडौंसहित देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक छ ।

यसैबीच महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले संयुक्त रुपमा दुई दिनसम्म मनाइने बालदिबसको मुख्य आकर्षण सडक बालबालिका मुक्त राष्ट्र बनाउने अभियान अन्तर्गत सडकदेखि रंगशाला सम्म ‘स्ट्रिट टु स्टेडियम’ कार्यक्रम रहेको छ ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

बालबालिकालाई जिम्मेवार नागरिक बनाउने दायित्व राज्यको : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताएकी छन् ।

बाल दिवसको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको उल्लेख गरिन् ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको भन्दै राष्ट्रपतिले यसबाट बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषयहरू समेटिँदै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको उल्लेख गर्नुभएको छ । संविधानको मार्गदर्शन बमोजिम बालबालिकासम्बन्धी ऐन, २०७५ लागू भई बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयमा उल्लेख्य कार्यहरू हुँदै आएका छन् ।

विश्वव्यापी महामारी कोभिड–१९ का कारण लामो समयदेखि जारी बन्दाबन्दीका कारण बालबालिकाहरूको नियमित पठनपाठनमा अवरोध उत्पन्न भएकामा चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले भनेकी छन्, “देशका दुर्गम गाउँ र बस्तीमा रहने बालबालिकाहरूले अनलाइन कक्षाबाट समेत बञ्चित हुनुपरेको अवस्था छ । अठार वर्षमुनिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोपको व्यवस्था हुन नसकेका कारण उनीहरू सङ्क्रमणको जोखिममा रहेका छन् ।”

बालबालिकालाई महामारीबाट सुरक्षित बनाउँदै बालअधिकारको संरक्षणमा आ–आफ्नो भूमिका निभाउन राष्ट्रपतिले सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गरेकी छन् । बालबालिकाको भविष्य सुनिश्चित गर्नका लागि सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, बालअधिकारकर्मी, सामाजिक सङ्घ–संस्था, निजी क्षेत्र, नागरिक समाज तथा अभिभावकहरूले निर्वाह गर्दै आइरहनुभएको भूमिकाका लागि राष्ट्रपतिले सबैमा धन्यवाद दिएकी छन् ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोरोना विरुद्धको खोप दिन सरकार पूर्ण प्रयासरत रहेको बताका छन् ।

बाल दिवसका अवसरमा शुभकामना संदेशमार्फत उनले कोरोनाबाट प्रभावित बालबालिकाका लागि हरेक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याको व्यवस्था गरिएको बताए ।

महामारीको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेकोमा प्रधानमन्त्री देउवाको जोड छ ।

संम्बन्धित समचार

Leave a Reply