बेमौसमी बर्षाको असरः जीडीपीमा ३ प्रतिशतले क्षेति

कार्तिक ०५, काठमाडौँ । असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाले धान डुबाउँदा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २ देखि ३ प्रतिशतसम्मको क्षति पुग्ने अर्थविद्हरूले अनुमान गरेका छन् । वर्षाले कुल उत्पादनको झण्डै २० देखि २५ प्रतिशत धानमा क्षति पु-याएको प्रारम्भिक अनुमान गरिएको छ । जसका कारण खाद्यान्न आयात बढ्दा व्यापार घाटा पनि बढ्ने तथा खाद्यान्न अभावमा कुपोषणसमेत बढ्ने अनुमान अर्थविद्हरूको छ ।

कृषि उत्पादनमा १० देखि १२ प्रतिशतसम्म योगदान गर्ने धान खेतीमा यति ठूलो क्षति पुग्दा त्यसले कुल गार्हस्थ्य उत्पादनमा नै असर गर्ने अनुमान गरिएको हो । वरिष्ठ अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारी वर्षाले धानमा परेको क्षतिले जीडीपीमा झण्डै २ प्रतिशतको गिरावट ल्याउने बताउँछन् । “कृषिले देशको कुल जीडपीमा २७/२८ प्रतिशतको योगदान गर्दा धानको योगदान कुल कृषि उत्पादनमा मात्र १२/१३ प्रतिशत छ,” उनले भने, “वर्षाले धेरै काटेको धान बिग्रिएको छ भने काट्ने बेलाको धान पनि लडेको छ । यसरी झण्डै २० देखि २५ प्रतिशत धान नोक्सान हुँदा अर्थतन्त्रमा २ प्रतिशतले असर पुग्ने अनुमान गर्न सकिन्छ ।”

गत महिना चालू आर्थिक वर्ष २०७८/०७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको थियो । कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभाव कोभिड खोपको तीव्रतासँगै क्रमशः कम हुँदै गएकाले चालू वर्षमा एसियाली विकास बैंकले ४.१ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर, सरकारले भने ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । त्यसैले सरकारले धान बालीको क्षतिबाट अर्थतन्त्रमा पर्ने असरलाई कम गर्न कृषिका अन्य क्षेत्रको योगदानलाई बढाउनुपर्ने उनी बताउँछन् ।

त्यस्तै अर्थशास्त्री प्रा.डा. रघुवीर विष्ट पनि बाढीले धान डुबाउँदा कुल गार्हस्थ्य उत्पादनमा संकुचन आउने बताउँछन् । “जीडीपीमा कृषि क्षेत्रको २७ प्रतिशत योगदानमध्ये धानले ठुला हिस्सा ओगटेको छ,” उनले भने, “धान खेतीमा ठूलो असर पर्दा यसले खाद्य संकट बढाउनुका साथै अर्थतन्त्रमा नै संकुचन ल्याउँछ ।”

बाढीले धान डुबाउँदा धानको उत्पादन घटी विदेशबाट आयात गर्नुपर्दा व्यापार घाटा बढ्नुका साथै गरिबी समेत बढाउने विष्टको तर्क छ । यसमा सरकाले कृषकलाई कसरी राहत दिन्छ तथा नोक्सानीको बीमा कसरी दिइन्छ त्यसले प्रभाव पार्ने उनी बताउँछन् । अर्का अर्थविद् केशव आचार्य पनि यसले अर्थतन्त्रमा प्रभाव पार्ने बताउँछन् । तर, कति प्रभाव पार्छ त्यो भने कति क्षति भयो त्यसको यकिन तथ्यांक आएपछि मात्र भन्न सकिने उनको तर्क छ ।

संम्बन्धित समचार

Leave a Comment