कुलेखानी जलाशयमा पानी ‘ओभरफ्लो’

कार्तिक १९, हेटौंडा । पूर्ण क्षमतामा विद्युत् उत्पादन नगरिँदा कुलेखानी जलाशय (इन्द्रसरोवर) बाट ११ दिनदेखि पानी ‘ओभरफ्लो’ भएर खेर गइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणको मुख्य ‘ब्याकअप’ का रूपमा रहे पनि कुलेखानी प्रथम जलविद्युत् आयोजना हाल ‘पिकअप टाइम’ मा मात्रै सञ्चालनमा छ । जसका कारण जलाशय भरिएर ओभरफ्लो भएको आयोजना प्रमुख धीरेन्द्र चौधरीले बताए । ‘आयोजना सञ्चालन भएको अवस्थामा पानी ओभरफ्लो हुँदैन, नत्र खेर जान्छ,’ उनले भने, ‘हिजोआज दिनमा १र२ घण्टा मात्र उत्पादन भइरहेको छ ।’ १ हजार ५ सय ३० मिटर उचाइसम्म पानी संकलन गर्ने जलाशयको क्षमता छ ।

२०७२ वैशाख १२ मा भूकम्प जानुअघि क्षमताभन्दा बढी करिब ५० सेन्टिमिटरसम्म पानी संकलन गर्न बाँधमा बालुवाको बोरा राख्ने गरिन्थ्यो । ‘भूकम्पले बाँध चर्किएपछि त्यसयता यसरी बोरा राखेर पानी संकलन गर्न छोडेका हौं,’ उनले भने । उनका अनुसार २०७२ पछि कुलेखानीको पानी ओभरफ्लो भएको यो पहिलो पटक हो ।

२०५५ र २०५८ मा पनि कुलेखानी भरिएको थियो । तर यति लामो समयसम्म ओभरफ्लो भएको थिएन । ‘२०५० को बाढीले जलाशय भरिएपछि बाँधको ढोका खोलेर पानी फालिएको थियो । त्यसयता बाँधको ढोका खोल्नुपरेको छैन,’ उनले भने ।

मनसुन सकिएपछि पनि जलाशयको जलाधार क्षेत्रमा लगातार भारी वर्षा भएकाले इन्द्रसरोवर भरिएर ओभरफ्लो भएको हो । मकवानपुरको थाहा नगरपालिकाका दामन, पालुङ, बज्रवाराही, चित्लाङ तथा इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् ।

मुलुकमा मागभन्दा बढी विद्युत् उत्पादन भइरहेकाले पनि यो आयोजना नियमित रुपमा सञ्चालन गर्नु नपरेको प्राधिकरणले जनाएको छ । आयोजना नियमित सञ्चालनमा नआउँदा जलाशयको पानी खपत भएको छैन  ।

संम्बन्धित समचार

Leave a Reply