बेलायतमा कोभिडविरुद्धको खाने औषधिलाई प्रयोगको अनुमति

कार्तिक २०, काठमाडौं । बेलायतले कोभिड-१९ विरुद्धको खाने औषधिलाई प्रयोगको अनुमति दिएको छ । अमेरिकी औषधि कम्पनी मर्क एण्ड रिजब्याक बायोथेरापेटिक्सले उत्पादन गरेको खाने औषधिको प्रयोगको अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको हो ।

बेलायतको मेडिसिन एण्ड हेल्थकेयर उत्पादनको नियामक प्राधिकरणले मोलनूपिरावीर नामक औषधिको क्लिनिकल तथ्यांकको आधारमा मान्यता दिएको हो । यो औषधि कोभिड संक्रमण देखिएको वा संक्रमित भएको पाँचदिनभित्र खानुपर्नेछ ।

मोलनूपिरावीर कोरोना भाइरसविरुद्धको विश्वको पहिलो खाने औषधि हो । अमेरिमा भने औषधि प्रयोगको अझै पनि अनुमति दिइएको छैन । त्यहाँ नोभेम्बर महिनाभित्र प्रयोगको अनुमतिको सन्दर्भमा निर्णय हुने बीबीसीले जनाएको छ ।

यसैबीच अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोरोनाका बिरामीका लागि आफूले विकास गरेको खाने औषधि ८९ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ । अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्ने कुरामा यो औषधि प्रभावकारी देखिएको कम्पनीको दाबी छ ।

अवस्था गम्भीर हुने उच्च जोखिममा रहेका बिरामीहरूले कोभिडका लक्षण देखिनासाथ यो चक्कीको सेवन गर्नुपर्ने बताइएको छ । फाइजरले उक्त चक्कीको आपत्कालीन प्रयोगका लागि अनुमति दिन अमेरिकी नियामक निकायमा निवेदन समेत दिइसकेको छ ।

संम्बन्धित समचार

Leave a Comment