भारतको गहुँ निकासीमा प्रतिबन्धले नेपाली मैदा मिल समस्यामा

जेठ ६, काठमाडौँ । भारत सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएसँगै नेपाली मैदा मिलमा समस्या देखिएको छ । मैदा मिल सञ्चालकहरुका अनुसार कच्चा पदार्थको अभावसँगै उपभोक्तालाई मूल्यवृद्धिको मार पर्ने तथा कतिपय मिल बन्द हुने जोखिम समेत उत्पन्न भएको छ ।

मुलुकमा हाल ४३ वटा फ्लोर मिल (मैदा उद्योग) सञ्चालनमा रहेका छन् । नेपाली मैदा उद्योगलाई आवश्यक पर्ने गहुँ स्वदेशमै उत्पादन नहुँदा आयातमा भर पर्नु परिरहेको अवस्था छ । प्रत्येक मैदा उद्योगलाई वार्षिक २ लाख ५० हजार क्विन्टल गहुँ आवश्यक पर्छ ।

नेपाल फ्लोर मिल्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार अग्रवाल भारत सरकारको निर्णयले नेपाली मैदा उद्योगमाथि ‘कालो बादल मडारिएको’ टिप्पणी गरे । उनले गहुँ आयात रोकिएसँगै उपभोक्ताको भान्सा महँगिने तथा यसको असर होटल रेष्टुरेन्टदेखि पशुपन्छीको दानासम्ममा पर्ने बताए ।

भारतको वाणिज्य मन्त्रालयले एक सूचना प्रकाशित गरी गहुँ निकासीमा रोक लगाएको थियो । रुस र युक्रेनबीच भइरहेको युद्धका कारण ति मुलुकबाट गहुँ निर्यात हुन सकेको छैन । रुस, युक्रेन र इजरायलले विश्वको कूल गहुँ खपतमध्ये ६० प्रतिशतसम्म हिस्सा ओगटे पनि मुख्य उत्पादक राष्ट्रहरुमा समस्या परेपछि अर्को ठूला गहुँ उत्पादक मुलुक भारतमाथि चाप परेको छ ।

रुस र युक्रेनबीच जारी युद्धका कारण गहुँको अन्तर्राष्ट्रिय मूल्य झण्डै ४० प्रतिशतले बढेको छ । यसले भारतबाट निर्यात बढेको छ । माग बढेपछि स्वदेशलाई नपुग्ने भन्दै भारतले निकासीमा प्रतिबन्ध लगाएको हो ।

नेपालमा गत चैत मसान्तसम्म भारतबाट २ लाख ९ सय १५ टन गहुँ आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार यो आयात ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ बराबर रहेको र गहुँ आयातबाट सरकारले ३१ करोड ४९ लाख रुपैयाँ राजस्व उठाएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply