महिला उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शारदा न्यौपाने निर्बिरोध निर्बाचित

कार्तिक ७, काठमाण्डौ ।  महिला उत्प्रेरणा बचत तथा ऋण  सहकारी संस्था, सागबारी, कौशलटारको  १३औं साधारणसभाबाट आगामी तीन बर्षका लागि श्री शारदा न्यौपाने अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा श्री कल्पना न्यौपाने, सचिवमा श्री चन्द्रकला भट्टराई, कोषाध्यक्षमा श्री भगवती अधिकारी तथा सदस्यहरुमा श्री सरस्वती कार्की, श्री बिष्णु कुमारी न्यौपाने, श्री कबिता श्रेष्ठ, श्री सुनिता लावती र इन्दिरा श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । लेखा समितिको संयोजकमा श्री रबिना प्रजापति, सदस्यहरूमा श्री शोभा भट्टराई, श्री निर्मला घंजु निर्वाचित हुनुभएको छ ।
आजको साधारणसभाको प्रमुख अतिथि मध्यपुर थिमी वडा नं. ३ का वडाध्यक्ष श्री कृष्णहरी आचार्य हुनुहुन्थ्यो ।

नवनिर्वाचित अध्यक्ष शारदा न्यौपानेले संस्थाको स्थापना बारे बोल्दै भन्नुभयो “यस संस्थाकी संस्थापक अध्यक्ष आदरणीय दिदी डाक्टर जानुका नेपालज्यूको पहलमा केही हाम्रा यस टोलका अग्रज व्यक्तित्वहरुसंग बसी छलफल गरि सहकार्यात्मक कार्य संस्कृतिको आधार खडा गर्ने, व्यक्तिहरूका साझा लक्ष्य भेटाउने बाटो वा गोरेटो खन्ने, समुदायका व्यक्तिका आकांक्षा र आवश्यकता मेटाउने साधनको रुपमा बिकास गर्ने, पारस्परिक रूपमा हित प्रवर्द्वनका लागि एक आपसमा जुट्ने माध्यमको रुपमा स्थापित गर्ने उद्वेश्यले सहकारीको माध्यमबाट हामी महिलाहरुलाई बिकासको मूल प्रवाहमा लैजानका लागि यो महिला सहकारीको स्थापना गरिएको थियो ।”
बि. सं. २०६६ साल चैत्र २२ गते ५२ जना महिला दिदीबहिनीहरुको रु. २ लाख ५० हजार शेयर पूंजीमा स्थापित यो संस्था अनेकन् आरोह अवरोह बीच अहिलेसम्म आइपुग्दै गर्दा ३ सय ४९ जना शेयर सदस्यबाट २ करोड ५० लाख भन्दा माथि पूंजी परिचालन गर्दै अगाडि बढिरहेको जानकारी गराउदै  आफू अत्यन्त हर्षित रहेको  र यो हामी सबैको लागि गौरवको बिषय पनि हो भन्नुभयो ।
“यद्यपि यसैमा चित्त बुझाउन सक्ने ठाउँ छैन र आगामी दिनमा सहकारीको सिद्धान्त अनुसार पूँजी लगानी गर्ने सबै सदस्यहरू मालिक हुन पाउने संयन्त्रलाई परिचालन गरि  सहकारीमा आवद्ध सबै सदस्यहरूको सामूहिक लाभका लागि सदस्यहरूमार्फत् रचनात्मक र सिर्जनात्मक कार्य गराउने प्रतिवद्वता व्यक्त गर्दछु  । सीमित तथा न्यून पूँजी हुने व्यक्तिहरूलाई पनि केही न केही नविन कार्य गर्न उत्प्रेरित गर्ने उत्प्रेरक थलो पनि यही सहकारी भएकोले सदस्यहरूको अग्रसरता र स्वामित्वमा स्थापना हुने सदस्यहरूकै रेखदेखमा सञ्चालन हुने तथा आर्जित लाभको उपभोग पनि सदस्यहरूले नै गर्नेगरी  सदस्य केन्द्रित एवम् प्रजातान्त्रिक कार्य संस्कार सहितको संरचनाको रुपमा यस संस्थालाई बिकास गर्दै लैजाने सहकारीको लक्ष्यलाई हामीले पनि आत्मसात गरेका  छौं ।” श्री न्यौपानेको भनाइ थियो ।

कुनै पनि राष्ट्रको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणमा उल्लेख्य भूमिका हुने सहकारी विश्वका पूँजीवादी समाजवादी तथा मिश्रित सबै प्रकारको अर्थव्यवस्था अगालेका विकसित विकासोन्मुख एवम् अति कम विकसित राज्यमा सहकारीको प्रभावकारी उपस्थिति र योगदान देखिन्छ । करोडौं अमेरिकी नागरिकलाई विद्युत वितरण गर्न सक्षम अमेरिकी ग्रामीण विद्युत सहकारी, करोडौं उपभोक्तालाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने जापानी उपभोक्ता सहकारी, करिब सबैजसो किसान संलग्न र ४० हजार भन्दा बढी संस्थाको सहकार्यमा मलको कारोबार गर्ने भारतीय मल सहकारी, सबैभन्दा ठूलो स्वतन्त्र ट्राभल एजेन्सी चलाएको बेलायतको पर्यटन सहकारी तथा मुलुकको दुग्ध उत्पादनमा ९० प्रतिशत भन्दाबढी योगदान गर्ने उरुग्वेका दुग्ध सहकारी विश्व सहकारीका केही प्रतिनिधि नमुना हुन् । नेपालमा २०१३ सालदेखि हालसम्म करिब ३० हजार भन्दा बढी सहकारी संस्थाहरूले लाखौ मानिसलाई सहकारी अभियानमा समेटेका छन् । हजारौलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेका छन । पूँजी तथा निक्षेप सङ्कलन परिचालन र ऋण लगानीमा उल्लेख्य हिस्सा ओगटेका छन् ।  देशको कूल ग्राहस्र्थ उत्पादनमा सहकारीको योगदान उल्लेख्य रहेको  छ । सहकारीले नेपालमा रोजगारीको सिर्जना, सामाजिक एकीकरण, गरिबी निवारण तथा आर्थिक सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको छ । यसरी हेर्दा सहकारीको महत्व नेपालमा मात्र नभएर विश्वभर नै अत्यन्त ओजिलो र गर्विलो छ । देश विकासको क्रममा सानोतिनो आर्थिक क्षमतालाई एकत्रित गरी सामूहिक प्रयासद्वारा कृषि विकास, घरेलु इलम र उद्योग धन्दाहरूको परिचालन गरी सहकारी क्षेत्रले राष्ट्रिय विकासमा अर्थपूर्ण योगदान पुर्याएको पाइन्छ ।

नेपालको संविधान, २०७२ ले  सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत् राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने, सहकारी क्षेत्रलाई प्रवर्द्वन गर्दै राष्ट्रिय विकासमा अत्याधिक परिचालन गर्ने भनी उल्लेख गरिएको कारणले पनि
सहकारीको महत्त्वलाई दर्साएको छ ।

सोही साधारणसभाको कार्यक्रममा अध्यक्ष न्यौपानेले भन्नुभयो “केही नीतिगत, कानुनी, संस्थागत, प्रक्रियागत, सुशासनमा कमीकमजोरी देखिए पनि ती सुधार हुने क्रममा छन, सही कर्जा लगानी र जोखिम व्यवस्थापन पक्षमा कमजोरी भने सहकारीको लागि घातक रोग हो भन्ने लाग्छ । हाम्रो यस महिला सहकारीमा सबभन्दा सबल पक्ष भनेको  सदस्य र कर्मचारीबीचमा क्रेता र विक्रेताको व्यवहार र कर्मचारी र सञ्चालकमा मालिक र मजदुरको भावनाले हेर्ने जस्ता गलत कार्यहरु कहिल्यै भएनन् र भविष्यमा पनि नहुने प्रतिवद्वता व्यक्त गर्दछु । हो हामीमा अझैपनि प्राविधिक वा विषयगत अदक्षता भने सोचेजति कम गर्न सकेका छैनौं, त्यसको लागि पर्याप्त मात्रामा शिक्षा तालिम र जनचेतना जगाउन हामी पनि प्रयासरत छौं र ड्यासमा रहनुभएका आदरणीय अतिथिज्यूहरुले समेत यसतर्फ ध्यान दिई सम्बन्धित निकायको ध्यानाकर्षण गराउन जरुरी छ । सहकारीका नाममा व्यक्तिगत व्यापार गर्ने प्रवृत्ति हावी भएर वा सहकारीमा सम्वद्ध निकायहरूबीचमा समन्वयको अभाव र अस्वस्थ प्रतिस्पर्धा भएर पनि केही ठूला सहकारीहरु धाराशायी भएको बेलाबेलामा सुन्न पाइन्छ, त्यस्ता कुराहरुबाट अलग रहेर यस संस्थाको साख उच्च पार्दै संस्थालाई सवलीकरण बनाउन सूसासन सहितको व्यवसायिक सफलता हासिल गर्न हरसंभव प्रयासरत छौं र रहिरहनेछौं भन्ने प्रतिवद्वता समेत यस गरिमामय सभामा गर्न चाहान्छु ।”

नवनिर्बाचित अध्यक्ष श्री न्यौपानेका अनुसार “हामीले प्रवाह गरेका  कर्जाहरु जोखीमरहित हुन् भन्नेमा हामी सचेत छौं, तथापि केही ऋणीहरुको कारण केही कर्जाहरुमा जोखीम पनि नदेखिएको होइन त्यस्ता कसुर गर्ने व्यक्ति वा संस्थालाई कानुनको कठघरामा उभ्याउने कडा कानुन नहुदा ऋण असुलीमा केही कठिनाइ भएको छ अर्थात् सहकारीमा हुने गरेका ठगीलाई कारवाहीको दायरामा ल्याउन प्रभावकारी कानुन र कार्यान्वयन संयन्त्र नहुनाले पनि केही कठिनाइ उत्पन्न भएको छ, तथापि यस्ता ऋणहरु उठाउन संस्थापक तथा निवर्तमान अध्यक्ष र हाम्रो कार्यसमिति तदारुकताका साथ लागिरहेको र लागिपर्ने विश्वास दिलाउन चाहान्छु ।”

साधारण सभाको अन्तमा, ‘आर्थिक विकास र‌ सामाजिक रुपान्तर‌णका लागि सहकार‌ी’ भन्ने नारालाई सार्थक तुल्याउन यस महिला उत्प्रेरणा सहकारीको जे जति भूमिका रहने हो, सो भूमिका निर्वाह गर्न हामी सबै कटिबद्ध छौं, आत्मैदेखि लागेर बचत तथा ऋण परिचालन गरेर सूसासन कायम राख्दै शेयरसदस्यमुखी कार्यक्रमहरु मार्फत आर्थिक क्रियाकलापहरु गरेर अघि बढ्ने संकल्प गर्दछौं, अध्यक्ष न्यौपानेको भनाइ थियो । सोही कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०७८/७९ मा भएका गतिविधिहरु तथा चालू आर्थिक बर्षका कार्यक्रमहरुको बारेमा संस्थाका सचिव श्री चन्द्रकला भट्टराई  तथा वित्तीय बिवरणको सम्बन्धमा  कोषाध्यक्ष श्री भगवती अधिकारीले  प्रतिवेदन पेस गर्नुभएको र छलफल पश्चात् पारित गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply