गगन बोलिरहँदा जब सभामुखले माइक काटे……

पौष १३, काठमाडौं । शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रमुख कांग्रेस सांसद गगन थापाको नाम विशेष समयमा बोल्ने सांसदहरुको सूचिमा थियो।

उनले ४ मिनेट बोल्नका लागि समय मागेका थिए।

८ जना सांसदले प्रतिनिधि सभाको शून्य समयमा सम्बोधन गरेपछि हृदयेश त्रिपाठीलाई ८ मिनेट समय दिँदै सभामुख कृष्णबहादुर महराले विशेष समय सुरु गरे।

दिउँसो १ बजे सुरु भएको प्रतिनिधि सभा बैठकमा सांसद थापाले बोल्न सुरु गर्दा १ बजेर २४ मिनेट २१ सकेन्ड गएको थियो। ४ मिनेट माग गरे पनि सभामुखले उनलाई ३ मिनेट मात्र समय दिए। सभामखुले विशेष समयका लागि पार्टीको सिट संख्या र त्यो दिन सञ्चालन हुने बैठक सत्रलाई भाग गरेर समय दिने गर्छन्।

सांसद थापाले सदनमा कर्मचारी समायोजन अध्यादेशबारे सम्बोधन गरेका थिए। ‘कर्मचारीका समस्या समाधान गर्ने कुरामा सरकारसँग मिलेर काम गर्न प्रस्ताव राख्दै यो अध्यादेश फिर्ता लिएर जान म सरकारसँग जोडदार माग गर्दछु। अन्यथा….’, उनको वाक्य पूरा हुन नपाउँदै सभामुख महराले उनको माइक काटिदिए।

२४ मिनेट २१ सेकेन्डमा बोल्न सुरु गरेका उनको ३ मिनेट भनेको १ बजेर २७ मिनेट २१ सेकेन्डसम्म हो। संसदको भिडियो रेकर्डअनुसार १ बजेर २६ मिनेट ५२ सेकेन्डमा सभामुख महराले उनको माइक काटिदिएकाे देखिन्छ। जतिबेला थापाको समय अझै २९ सेकेन्ड बाँकी थियो।

शून्य समयमा बोल्ने सांसदको समय व्यवस्थित गर्न संसदले स्वचालित माइक काट्ने व्यवस्था गरेको छ। विशेष समय लिएर बोल्नेहरुको माइक भने सभामुख आफैँले काट्ने गर्छन्।

सदनमा बोलिरहँदा निर्धारित समयभन्दा अगाडि नै माइक काट्ने विषयप्रति सांसद थापाले गम्भीर आपत्ति जनाएका छन्। समय गणनाको तयारीसहित संसदमा गए पनि सभामुखले पूरा समय बोल्न नदिई माइक काटेर अन्याय गरेको उनले बताए।

‘सभामुखबाट यो गलत काम भएको छ। यसमा मेरो गम्भीर आपत्ति छ’, नेपालखबरसँग कुराकानी गर्दै थापाले भने, ‘यसअघि बालकृष्ण ढुंगेलको विषयमा बोलिरहँदा पनि सभामुखले समय अगाडि नै माइक काट्नुभएको थियो। यो दोस्रो पटक हो।’

सांसद थापा प्रमुख प्रतिपक्षी दलका सांसद हुन्। उनको समयमा झेली गर्ने महरा सत्तारुढ दल नेकपाबाट सभामुख बनेका हुन्। सभामुखको भूमिका मर्यादित र निष्पक्ष हुनुपर्ने सांसद थापाले माग गरेका छन्।

यो विषयमा कुराकानी गर्न सभामुख महरासँग सम्पर्क प्रयास गर्दा उनले माबोइल उठाएनन्।

संम्बन्धित समचार

Leave a Reply