डा. केसीका समर्थकको ढुंगानालाई अनुरोध-‘ सरकारलाई सम्झाइदिनुस्’

असार २७,काठमाडौँ । डा. गोविन्द केसीका समर्थकहरुले नागरिक समाजका अगुवा दमननाथ ढुंगानालाई भेटेर सरकारलाई सम्झाइदिन आग्रह गरेका छन् ।

अधिवक्ता डा. सुरेन्द्र भण्डारी, चरण प्रसाइँ लगायतले बुधबार अपराहृन ढुंगानासँगै प्रा. वीरेन्द्र मिश्रलाई संयुक्त रुपमा भेटेर आमरण अनसनरत गंगामाया अधिकारी र डा. गोविन्द केसीको अवस्थाबारे जानकारी गराएका छन् ।

चिकित्सा शिक्षा अध्यादेशलाई सबैले स्वीकार गरेको भन्दै उनीहरुले त्यसलाई नै विधेयकमा रुपमा ल्याउन सरकारलाई सम्झाइदिन आग्रह गरेका छन् ।

अनसनरत गंगामायाको अवस्था पनि निकै गम्भीर भएको भन्दै उनीहरुले विगतको सहमति अनुसार रेडकर्नर नोटिस जारी गर्न प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन् । ‘यसका लागि तपाईहरुले सरकारलाई सम्झाइदिनुस् भनेर आग्रह गरेका छौं’ डा. भण्डारीले भने, ‘हाम्रो गल्ती छ भने हामीलाई पनि सम्झाइदिनुस् ।’

भेटमा नागरिक अगुवाद्धय ढंगाना र मिश्रले आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएका छन् ।

यसैबीच विभिन्न पेशागत संघसंस्थाले डा. केसी र अधिकारीको अनसन तथा निषेधाज्ञाविरुद्ध ऐक्यवद्धता जनाउन शनिबार विशाल प्रदर्शन गर्ने भएका छन् ।

उनीहरूले सरकार संवादका माध्यमबाट सत्याग्रहीका मागहरु सम्वोधन गर्नुको सट्टा परिस्थितिलाई थप जटिल बनाउने तर्फ उन्मुख रहेको भन्दै यस्तो कार्यले सत्याग्रहीको जीवन जोखिममा पारेको, नागरिक स्वतन्त्रतामा अंकुस लगाएको, चिकित्सा क्षेत्रको सुधार र अपराध पीडितको न्यायको उपेक्षा गरेको जिकिर गरेका छन् ।

तत्काल संवादको माध्यमबाट सत्याग्रहीका मागहरु सम्बोधन गर्न सरकारसमक्ष उनीहरूले अपील समेत गरेका छन् ।

साथै, सरकारले आम नागरिकका विरोधका आवाजहरु बन्द गर्नका लागि माइतीघर मण्डला लगायत देशभरका विभिन्न क्षेत्रहरुमा निषेधित क्षेत्र घोषणा गरेको उनीहरूको आरोप छ ।

संम्बन्धित समचार

Leave a Reply