फेरि ३ जना कोरोना पोजिटिभ भेटिए, कोरोना संक्रमितको कूल संख्या ४५ पुग्यो !

वैशाख १०, काठमाण्डौ । नेपालमा आज फेरि तीन जना कोरोना संक्रमित पुष्टि भएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमूना जाँच गर्ने क्रममा तीन जनाको रिपोर्ट पोजिटिभ आएको हो । क्वारेन्टिनमा रहेका ती २४, ६० र ७२ वर्षका पुरुष उदयपुरकै हुन् । योसँगै उदयपुरमा कूल संक्रमितको संख्या २७ पुगेको छ । प्रदेश १ सबैभन्दा बढी संक्रमित फेला परेको प्रदेश हुन पुगेको छ । सुखद खबरमा थप तीन जना डिस्चार्ज भएसँगै कोरोना लागेर निको भएर घर फर्किनेको संख्या सात पुगेको छ। संक्रमण पुष्टि भएको लगभग एक महिनामा उनीहरु निको भएका हुन् । अहिले एक्टिभ भएका केसहरुमा पाटनमा दुई जना छन् भने सुदूरपश्चिममा २ जना, चितवनमा २ जना, वीरगंजमा ४ जना छन् । विराटनगरको अस्पतालमा २७ जना पुगेका छन् ।

यसैक्रममा सरकारले ४० हजार बढीको कोरोना भाइरस परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा ल्याब पिसिआर र र्‍यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी प्रविधिबाट ४० हजार ४३१ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिइयो । पिसीआरबाट ९ हजार ११ र आरडीटीबाट ३१ हजार ४२० जनाको कोरोना भाइरस परीक्षण गरिएको हो ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ७३६ जनाको कोरोना परीक्षण गरिएको बताए । उनका अनुसार अहिलेसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ७ हजार ३०७ जनाको नमूना परीक्षण गरिएको छ । यस्तै, सबैभन्दा कम नमूना परीक्षण प्रदेश नम्बर ५ मा गरिएको छ। यहाँ २ हजार ५९५ को मात्रै नमूना परीक्षण भएको छ । प्रदेश नम्बर १ मा ३ हजार ९७ को नमूना परीक्षण भएको छ भने प्रदेश नम्बर २ मा ३ हजार ९२५ को परीक्षण भएको छ। बाग्मतीमा ५ हजार ९१५ को परीक्षण हुँदा गण्डकीमा ४ हजार २७५ को र कर्णाली प्रदेशमा ४ हजार ३० को नमूना परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताए । प्रवक्ता देवकोटाका अनुसार ९५ जना आइसोलेशनमा छन्। अहिलेसम्म नेपालमा संक्रमण भएका मध्ये ७ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply