‘हामी कसैको निगरानी गर्दैनौँ , हाम्रो गरिदिनोस् भन्छौँ : प्रमुख आयुक्त थपलिया

आश्विन २८,काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आउँदो मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई बिथोल्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन कानुनअनुसार आफ्नो कार्य सम्पादन गर्दा पनि प्रेस स्वतन्त्रताविरोधी गतिविधि गर्‍यो भनेर केही निकायले भन्ने गरेको उल्लेख गर्दै त्यस्तो दुष्प्रयास नगर्न सचेतसमेत गराए । आज शुक्रवार आयोगको कार्यालयमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रेस काउन्सिल नेपाललाई पनि आयोगमाथि अझ बढी निगरानी राख्न गम्भीर बन्न आग्रह गरे।

उनले भने, ‘हामी कसैको निगरानी गर्दैनौँ । हाम्रो गरिदिनोस् भन्छौँ । खबरदारी गरिदिनोस् भनेर हामीले पटक–पटक भनिराखेका छौँ । हामी चुनावमात्रै गर्दै छैनौँ । हामी लोकतन्त्रलाई थप सुदृढ गर्दैछौँ । हामी जनताको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीलाई अझ बलियो बनाउने अभ्यासमा छौँ । तसर्थ यो अभ्यासलाई कुण्ठित हुने ढङ्गका र निर्वाचन आयोगलाई खुद्रा–मसिना कुरामा अलमल्याएर कतै चुनावको स्वच्छता, भङ्ग गर्न सकिन्छ कि भन्ने दुस्साहस यदि कसैले राखेको छ भने त्यो दिवास्वप्ना हो । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि हनन हुने छैन । आयोगलाई लाञ्छना लगाएर चुनाव बिथोल्ने प्रयास नगरियोस् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन कानुन र संवैधानिक मूल्य–मान्यता बमोजिम चुनावको कार्य सम्पादन गर्नका लागि विभिन्न निकायलाई निर्देशन दिन सक्ने व्यवस्था रहेको पनि स्मरण गराए ।

संम्बन्धित समचार

Leave a Reply