बाढी-पहिरो प्रभावितको घाउमा मलम लगाउँदै काँग्रेस, सांसदले पाँच दिनको तलब दिने

असार ३०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बाढी, पहिरो र डुबान प्रभावितका लागि राहतस्वरुप पाँच दिनको तलब सहयोग गर्ने भएका छन् ।

कांग्रेस संसदीय दलले सोमबार एक विज्ञप्तिमार्फत् राष्ट्रिय विपद्को दुःखद् घडीमा सबैलाई एकताबद्ध भइ विपद्को सामना गर्न आह्वान गरेको छ ।

कांग्रेसले प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अपर्ण तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

पाँच दिनदेखि परेको वर्षाका कारण बाढी, पहिरो र डुबानबाट विभिन्न जिल्लाका ६२ नागरिकले ज्यान गुमाएका छन् । कैयौं नागरिक बेपत्ता, सयौं घाइते तथा हजारौं प्रभावित भएका छन् ।

महत्वपूर्ण राजमार्ग अवरुद्ध भएको, अत्यावश्यक सेवा अवरुद्ध भएको, अर्बौैं रुपैयाँ बराबरको घर, खेत, धनमाल र बाली नस्ट भएको वर्तमान अवस्थामा विपद् व्यवस्थापन, उद्धार राहत र पुनःस्थापनासम्बन्धी विषयमा संसदमा गम्भीर छलफल गर्न आवश्यक भएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले बाढी–पहिरोसँग सम्बन्धित अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न प्रतिनिधिसभाको सोमबारको बैठकको अन्य कारबाही स्थगन गरी विपद् व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भनेर ल्याएको प्रस्तावमा सत्तापक्ष सकारात्मक नदेखिएको आरोप लागाएको छ ।

‘यस सम्बन्धमा संसदमा छलफल गरी सांसदको धारणा सुनेर सरकारले प्रतिबद्धता व्यक्त गर्नुपर्छ । विपद्का बेला सबै शक्ति एकजुट भइ यसको सामना गर्न, जनतालाई विश्वास र भरोसा दिलाउन, विपद्बाट उद्धार, राहत र पुनःथापनामा जुट्नुपर्नेमा सरकार संसदको सामना गर्न नै तयार नहुनु दुःखद् कुरा हो’–कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

संम्बन्धित समचार

Leave a Reply