नेपाली कांग्रेस पार्टीको १४औं महाधिवेशन धकेलिने संकेत, क्रियाशील सदस्य कति ?

साउन ५, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन धकेलिने भएको छ । कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म महाधिवेशन सार्ने तयारी गरेको हो । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेपछि महाधिवेशन भदौभित्रै हुने तर केही दिन सर्ने तय भएको देउवा निकट एक नेताले जानकारी दिए ।

देउवाले विश्वासको मत पाएसँगै कांग्रेस नेतृत्वको ध्यान सरकार, कोरोना महामारी र पार्टीको महाधिवेशनतर्फ केन्द्रित भएको हो । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा गत शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा समेत महाधिवेशनलाई विश्वासको मतसँगै जोडेर हेरिएको थियो । यस्तै, बैठकमा महाधिवेशन, क्रियाशील सदस्यता र समयावधिका विषयमा छलफल भएको थियो ।

हाल कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले ७५ जिल्लाका क्रियाशील सदस्यतासम्बन्धी काम सकिएको बताउँदै आएको छ । सप्तरी र बारामा भने बढी विवाद देखिएको छ । समितिले ती दुई जिल्लाको विवाद थाँती राखेर क्रियाशील सदस्यताको सूची सभापतिलाई बुझाउने तयारी गरिरहेको छ । कांग्रेसमा महाधिवेशनका लागि विदेशस्थित जनसम्पर्क समितिबाटसमेत गरी करिब ९ लाख क्रियाशील सदस्य पुग्ने सदस्यता छानबिन समितिले अनुमान गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply