बिद्युतिय क्षेत्रमा नुवाकोटको फड्को : नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण

फाल्गुण २६, काठमाण्डौ । देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारी भईरहेको छ । अहिले काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण गरिरहेको छ । ग्रिडमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाका रुपमा लिइएको सो परियोजनाबाट विद्युत् उत्पादन शुरु भएपछि ऊर्जा मिश्रणको अवधारणामा समेत देखिने गरी काम हुनेछ ।

आयोजनाको कूल २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत् आगामी वैशाखभित्र उत्पादन गर्ने गरी काम भइरहेको छ । यस्तै थप १० मेगावाटका लागि भने जग्गा छनोट तथा अन्य प्राविधिक काम जारी रहेको छ । प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत् केन्द्रका नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन गर्ने गरी व्यवस्थापन गरिएको छ ।

विद्युत् केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र विद्युत् गृह नजिक रहेका तीन ठाउँमा पाँच मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ । एउटा प्यानलबाट २७५ वाट विद्युत् उत्पादन हुने छ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।

देविघाट विद्युत्गृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६÷३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकद्वय हरराज न्यौपाने र बज्रभूषण चौधरीलगायतको टोलीले शनिबार आयोजना निर्माणस्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्या, विद्युत् उत्पादन मितिलगायतका विषयमा छलफल गरेको प्राधिकरणले जनाएको छ ।

कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत सोलारबाट उत्पादित विद्युत् जडानको वैकल्पिक व्यवस्था गर्न निर्देशन दिनुभएको प्राधिकरणको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Reply