प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा, चर्चामा कुन-कुन नयाँ अनुहाहरु छन् ?

भाद्र २६, काठमाडौं । स्थायी कमिटीको बैठकपछि प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका छन् । सम्भवतः असोज सुरुमै नयाँ अनुहारले मन्त्रीमा प्राथमिकता पाउने चर्चा नेकपामा चल्न थालेको छ । पहिलो लटमा मन्त्री भएकाहरूमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, रामबहादुर थापा बादल, डा। युवराज खतिवडा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, वर्षमान पुन, पद्मा अर्याल, बिना मगर हुन् । जसमध्ये खतिवडा बिदा भइसकेका छन् ।

अबको मन्त्रिमण्डल पुनर्गठनमा पछिल्लो लटमा मन्त्री भएका योगेश भट्टराई, घनश्याम भुसाल, वसन्त नेम्वाङ, भानुभक्त ढकाल, डा।शिवमाया तुम्बाहाम्फेले भने निरन्तरता पाउने नेकपा नेताहरूको भनाइ छ । मन्त्रीमण्डल पुनर्गठनको चर्चा चलेसँगै कतिपय मन्त्री पद जोगाउने दौडधुपमा लागेको र कतिपय आकांक्षीहरू पनि नेताका घरदैलो चहार्न थालेका छन् । जसका कारण प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने बताएका थिए । तर, पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै मन्त्री फेर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएको बताइन्छ ।

पछिल्लो समय नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठन गर्दा दुई कार्यकाल प्रत्यक्ष निर्वाचित सांसद भएर पनि कुनै अवसर नपाएकाले प्राथमिकता दिनुपर्ने आवाज उठेको छ । सिन्धुलीका गणेश पहाडी, मकवानपुरका विरोध खतिवडा, ओखलढुंगाका यज्ञराज सुनुवार, तेह्रथुमका भवानी खापुङ, खोटाङका विशाल भट्टराई, डोटीका प्रेम आले, दैलेखका राजबहादुर बुढा, दार्चुलाका गणेश ठगुन्नाले दुई पटक प्रत्यक्ष निर्वाचित भएर पनि अहिलेसम्म कुनै अवसर पाएका छैनन् । त्यसैले उनीहरूलाई यसपटक मन्त्री बनाउन मापदण्ड बनाइएको बताइन्छ ।

अहिले सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय खाली नै छ । प्रधानमन्त्रीले तीनै मन्त्रालय आफैसँग राखेका छन् ।सम्भवतः पहिलो लटमा मन्त्री भएका एक दुईजनालाई कार्यसम्पादनका आधारमा निरन्तरता दिएर बाँकी सबैलाई बिदा गर्ने तयारी भइरहेको बुझिएको छ ।

संम्बन्धित समचार

Leave a Reply