विश्व वातावरण दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश

जेठ २२, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्व वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको भनिएको छ ।

प्रकृतिको स्वाभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको सन्देशमा उल्लेख गरिएको छ ।

जलवायु परिवर्तनले विश्वव्यापी सङ्कटको स्वरूप ग्रहण गरिरहेको परिवेशमा हामी प्रकृति र मानव सभ्यताको दिगो सहअस्तित्वका लागि ‘केवल एउटै पृथ्वी’ भन्ने मूल विषयमा आधारित भइ यस वर्षको विश्वातावरण दिवस मनाइरहेका छौँ ।

हामीसँग पृथ्वीजस्तो सजीव ग्रह एउटै मात्र भएकाले प्रकृतिका अन्य अवयवहरूको संरक्षण गर्दै सबैखाले प्राकृतिक स्रोतको दिगो उपभोगका लागि जीवनशैलीमा परिवर्तन ल्याएर स्वच्छ र हरित मानवीय जीवन पद्दतिको विकास गर्ने कुरा आज प्रमुख चुनौतीको रूपमा रहेको बताइएको छ ।

वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुका साथै शतप्रतिशत हरित वा स्वच्छ ऊर्जाको प्रयोग, विद्युतीय सरसामानको बहुउपयोग तथा इको यातायातको प्रवर्द्धनमा विशेष जोड दिन आवश्यक रहेको सन्देशमा भनिएको छ ।

त्यस्तै सन्देशमा हरेक परिवारले उत्सर्जन गर्ने कार्बन र अन्य हरितगृह ग्यासहरू कम गरेका खण्डमा सौर्यमण्डलको सजीव पिण्डका रूपमा रहेको हाम्रो पृथ्वीको पर्यावरण थप बिग्रनबाट रोकिने र मानव अस्तित्व सहजरूपले चलिरहने आशा गर्न सकिने उल्लेख गरिएको छ । त्यसका लागि नगन्य कार्बन उत्सर्जन गर्ने नेपालजस्ता पर्वतीय राष्ट्रले टापु राष्ट्रहरूको समेत साझा आवाज निर्माण गरी अन्तर्राष्ट्रिय मञ्चहरूमा जवाफदेहिता र ठोस प्रतिबद्धताको अभियान चलाउन अत्यावश्यक भइसकेको छ ।

वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले हासिल गरेका उपलब्धिलाई सुदृढ गर्नुका साथै विभिन्न द्विपक्षीय एवम् बहुपक्षीय मञ्चहरूमा उठान गरेका विषय र व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गर्न आजको दिनले थप उत्प्रेरणा दिने उहाँले बताउनु भयो ।

राष्ट्रपति भण्डारीले वातावरण संरक्षणको गहन अभिभारा पूरा गर्ने काममा संलग्न सङ्घीय वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकासमा संलग्न मन्त्रालयहरू, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा अङ्गहरू, स्थानीय समुदाय, विकास साझेदार एवम् सम्बद्ध सबैलाई धन्यवाद दिँदै पृथ्वीको रक्षा गर्ने महान् लक्ष्यमा निरन्तर अघि बढ्न सबैमा आग्रह गरेकी छन् ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गरेका छन् ।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपद्बाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवं प्रभाव बढेको बताएका छन् ।

यसले समग्र विश्व नै ठूलो वातावरणीय सङ्कटबाट गुज्रिरहेको बताउँदै प्रधानमन्त्री देउवाले यसको असरबाट नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील देश र गरिब तथा सिमान्तकृत समुदाय बढीमात्रामा प्रभावित भइरहेका उल्लेख गरेका छन् ।

वातावरणीय समस्यासँग जुध्नका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झकझकाउने उनले अपेक्षा लिएका छन् ।

यस सन्दर्भमा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै सरकारका तीन तहमा थप नीतिगत समन्वय, रणनीतिक मार्गदर्शन तथा कार्यक्रममा तादात्म्य कायम गरेर अघि बढ्न आवश्यक रहेको उनले जनाएका छन् ।

प्रधानमन्त्री देउवाले हालै संयुक्त अधिराज्य बेलायतको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्न सम्बन्धित सबै निकायको सक्रियता र समन्वय आवश्यक रहेकोसमेत उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइरहेको छ । यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ ।

नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन स् पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ । प्रधानमन्त्री देउवाले यस अवसरमा वातावरण संरक्षणको कार्यमा संलग्न सबै व्यक्ति, संस्था एवं विकास साझेदारमा शुभकामना व्यक्त गर्दै यस अभियानमा आआफ्नो ठाउँबाट योगदान पुर्‍याउन सबैलाई आह्वानसमेत गरेका छन् ।

वातावरण संरक्षणसम्बन्धी स्टकहोम सम्मेलन, १९७२ ले तय गरेको नारा ‘केवल एक पृथ्वी’लाई ५० वर्षपछि आएर फेरि पुनर्जागृत गर्नुले ब्रह्माण्डमै जीवन जीउनयोग्य एकमात्र ग्रह पृथ्वीको वैशिष्टय र यसको संरक्षणमा प्रतिकूल विद्यमान मानवीय क्रियाकलापलाई सुधार गर्नुपर्ने अपरिहार्यतालाई थप उजागर गरेको उनले उल्लेख गरेका छन् ।

यस वर्षका लागि तय गरिएको विश्व वातावरण दिवसको नाराको मर्मअनुरूप वातावरणमैत्री व्यवहार र आचरणको अवलम्बन गर्दै सबैको अस्तित्वको एकमात्र आधार पृथ्वीको संरक्षण गर्न यस दिवसले प्रेरणा मिलोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply