आज समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिन सकिने

असोज १७, काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा समानुपातिक तर्फको बन्दसूचीमा सूचीकृत उम्मेदवारले आज आफ्नो नाम फिर्ता लिने कार्यतालिका छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि दलहरुले हिजोसम्ममा पेश गरेको संशोधित बन्दसूचीबाट आफ्नो नाम हटाउन चाहने उम्मेदवारले आज आयोगमा निवेदन दिन सक्नेछन् ।

आयोगले निवेदनका लागि बिहान १० बजेदेखि १२ बजेसम्मको समय निर्धारण गरिएको छ । आफ्नो नाम सूचीबाट हटाउन चाहने उम्मेदवारको निवेदन परेमा आयोगले आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा सम्बन्धित दललाई जानकारी दिने कार्यतालिका छ ।

उम्मेदवारले नाम फिर्ता लिएका कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली असोज २० देखि २२ गतेभित्रमा सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्नुपर्नेछ ।

निर्वाचन कार्यक्रमअनुसार असोज २२ गते नै दिउँसो ३ बजेदेखि ५ बजेसम्म आयोगले उम्मेदवारको बन्दसूची प्रकाशन गर्नेछ । त्यस्तै असोज २३ गते बन्दसूचीमा उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिन सकिनेछ ।

आयोगले असोज ३० गते देखि कात्तिक ७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दाबी विरोधको निवेदनमा जाँचबुझ र निर्णय गर्नेछ । कात्तिक ८ गते बन्दसूचीबाट नाम हटाउने र ९ गते अन्तिम सूची प्रकाशित गर्ने कार्यतालिका छ । यस्तै प्रत्यक्षतर्फको मनोनयन असोज २३ गते हुने निर्वाचन कार्यक्रम छ ।

संम्बन्धित समचार

Leave a Reply