राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको पूजाआजा

असोज १७, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको आठौँं दिन आज अष्टमीको अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरेकी छन् । राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गर्नुएको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे राष्ट्रपति मन्दिर परिसर पुगेकी हुन् । राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गरेकी थिइन् ।

जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्तिपीठमध्येको एक हो । काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो । यस मन्दिरमा पूजाआजा गर्न आएका दर्शनार्थीको आज भीड लागेको छ ।

महाअष्टमी पर्वमा मकवानपुरको शक्तिपीठहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो छ । हेटाँैंडा–१० स्थित भुटनदेवी मन्दिर, मकवानपुर र बाराको सिमानामापर्ने चुरियामाई, मकवानपुरगढी–४ स्थित मनकामना र भीमफेदीमा रहेको भीमसेन मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।

शक्तिपीठहरुमा घटस्थापनादेखि दशमीसम्म भक्तजनको घुइँचो हुन्छ । विशेषगरी फूलपातीको दिनदेखि नवमीसम्म पूजाआराधना तथा बलि भोग दिन भक्तजन आउने गरेका छन् । चुरियामाई, मनकामना, भुटनदेवी र भीमसेन मन्दिरमा बलि भोग चढाइन्छ । नरिवलदेखि हाँस, कुखुरा, बोकालगायतका पशुपक्षीको बलि भोग चढाउने चलन छ ।

त्यस्तै आज हेटौँडा–४ स्थित पशुपति मन्दिर, थाहा नगरपालिकामा रहेको ऋखेश्वर मन्दिर र मकवानपुरगढीमा भक्तजनले दुर्गा भवानीको विशेष पूजा आराधनाका लागि आइपुगेका छन् । आज विशेष गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ ।

संम्बन्धित समचार

Leave a Reply