आम निर्वाचन: उम्मेदवारविरुद्ध २७ वटा उजुरीमाथि छानबिन सुरु

आश्विन ३०,काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीका उम्मेदवारविरुद्धमा परेको उजुरीमाथि छानबिन सुरु भएको छ । निर्वाचन आयोगले कात्तिक ९ गते उम्मेदवारको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गर्ने तयारीस्वरूप उजुरीमाथि छानबिन सुरु गरेको हो ।

आयोगको समानुपातिकतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले दाबी विरोधका लागि तोकिएको समयभित्र २७ वटा उजुरी परेको बताए । आयोगले असोज २९ गतेसम्म बन्दसूचीमा परेका उम्मेदवारविरुद्ध दाबी विरोधका लागि समय तोकेको थियो । प्रतिनिधि सभातर्फ १२ र प्रदेश सभातर्फ १५ वटा उजुुरी परेका हुन् । निर्वाचन अधिकृतका कार्यालयका अनुसार नेपाली कांग्रेस, बहुजन एकता पार्टी, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेपाल सुशासन पार्टी, जनता समाजवादी पार्टीले बुझाएका उम्मेदवारको बन्दसूचीबारे उजुरी परेको छ ।

सहायक निर्वाचन अधिकृत भट्टराईले भने, “दुईवटा पार्टीमा नाम रहेको, अल्पसङ्ख्यकको सूचीमा नाम रहे पनि सो समूहका नरहेको, लाभको पदमा बहाल हुँदाहुँदै उम्मेदवार बनेको तथा आफ्नो मन्जुरीबेगर नै सूचीमा नाम राखिएको प्रकृतिका उजुरी परेका छन् ।” अधिकृतको कार्यालयका अनुसार सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी लाभको पदमा हुँदाहुँदै उम्मेदवार बनेको भन्दै उनिविरुद्ध उजुुरी परेको छ । एक निजी टेलिभिजनमा कार्यरत सञ्चारकर्मीविरुद्ध समेत उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभातर्फ बन्दसूचीमा नाम रहेका स्याङ्जाका सञ्चारकर्मी शिव डुम्रेविरुद्ध उजुरी परेको हो ।

आयोगले कालोसूचीमा रहेका, स्थानीय निर्वाचनमा उम्मेदवार भई खर्च नबुझाउँदा तिर्नुपर्ने जरिवाना नतिरेको, दलले उम्मेदवारको नाम फिर्ता लिएपछि थपिएका उम्मेदवारको नाम सोहीक्रममा हुनुपर्ने व्यहोराका उजुरी परेको जनाएको छ । सहायक निर्वाचन अधिकृत भट्टराईले भने, “असोज ३० देखि कात्तिक ५ गतेभित्र आयोगले उक्त उजुरीउपर छानबिन गरेर निर्णय गर्नेछ ।” आयोगले कात्तिक ८ गते उम्मेदवार हटेकोसम्बन्धमा सूचना प्रकाशन गर्नेछ । भोलिपल्ट बन्दसूचीका उम्मेदवारको अन्तिम नामावली प्रकाश गरिनेछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार समानुपातिक अन्तर्गत प्रतिनिधि सभातर्फ ११० सिटका लागि ४७ दलले दुई हजार ४०२ जना उम्मेदवारको सूची बुझाएका छन् । प्रदेश सभातर्फ सातवटै प्रदेशमा २२० सिटका लागि चार हजार ५५ जना उम्मेदवारको सूची बुझाइएको छ । निर्वाचन अधिकृत भट्टराईका अनुसार प्रतिनिधि र प्रदेश गरी राजनीतिक दलले २८५ वटा बन्दसूची पेस गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply