कचनकवल गाउँपालिका छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क पढाउँदै

चैत्र १, काठमाण्डौ । दक्षिणी झापाको कचनकवल गाउँपालिकाका छोरी–बुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर पाएका छन् । गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको हो । “शिक्षा विकासको मेरुदण्ड हो”, सो गाउँपालिका अध्यक्ष अञ्जार आलमले भन्नुभयो, “महिलालाई सक्षम एवं आत्मनिर्भर बनाउने उद्देश्यले स्नातकसम्मको निःशुल्क अध्ययनको व्यवस्था गरेका हौँ ।”

गाउँपालिकाले यसअघि नै कक्षा–१२ सम्म सबैलाई निःशुल्क शिक्षाको व्यवस्था गरिसकेको छ । आर्थिक अवस्था कमजोर भएकै कारण कोही शिक्षाको अवसरबाट वञ्चित हुनु नपरोस् भनेर गाउँपालिकाले निःशुल्क शिक्षा अभियान सञ्चालन गरेको अध्यक्ष आलमले बताए । सम्पन्न र हुनेखानेका छोराछोरी अन्यत्रै गएर पनि बढ्छन्÷पढिरहेका छन्”, उनले भने “आर्थिक अवस्था कमजोर भएरै शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न गाउँपालिका लागि परेको छ ।” गाउँपालिकाले २०० भन्दा बढी छोरीबुहारीलाई मासिक रु ८५० का दरले अध्ययन खर्च दिने गरेको गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले जानकारी दिए । “महिला सशक्तीकरणमा विशेष योजना बनाएर काम गरिरहेका छौँ”, उनले भने “महिलालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन कुनै कसर बाँकी राखिने छैन ।”

त्यस्तै, कचनकलवका सात वडाका आठ विद्यालयमा नमूना बाल कक्षा स्मार्ट कक्षा सञ्चालन भइरहेको छ । सांसद विकास कोष र गाउँपालिकाको लगानीमा ती विद्यालयमा नमूना बालकक्षा सञ्चालन भइरहेको हो ।

संम्बन्धित समचार

Leave a Reply