कोरोना संक्रमण दर बढेसंगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थाले

माघ ३,काठमाडौँ । नेपालमा कोरोना संक्रमण दर बढेसंगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दै गएको छ ।

स्वास्थ्यकर्मी संक्रमित हुने संख्या सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा रहेको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बमकाअनुसार अस्पतालमा विभिन्न वार्डमा कार्यरत सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालमा केही दिनदेखि संक्रमित भर्ना हुनेदर बढ्दै गएको बमले बताए । उनका अनुसार जेनेरल वार्डमा २६ जना, आइसियु १०, एचडियुमा १० जना संक्रमित उपचाररत रहेका छन् ।

स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालले मेडिकल आइसियु सेवा बन्द गरेको डा बममे जानकारी दिए । यसरी अस्पतालमा आउने संक्रमित पनि बढ्दै जाने र उपचारमा खटिने स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा प्रभावित हुनसक्ने उहाँको भनाई छ । ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि अन्य स्वास्थ्यकर्मीलाई कामको चाप बढेको डा बमले बताए ।

त्यस्तै कोभिड युनिफाइड वीर अस्पतालमा पनि पछिल्लो केही दिन यता स्वास्थ्यकर्मी संक्रमित हुनेक्रम बढ्दो छ । अस्पताका प्रमुख डा भुपेन्द्र बस्नेतकाअनुसार अस्पतालमा शुक्रबारसम्म ३० जनाभन्दा बढी स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् । त्यस्तै, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा शुक्रबारसम्म ४ जना स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालका फोकल पर्सन डा. प्रविन नेपालले जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा पनि ५ जना स्वास्थ्यकर्मी संक्रमित भएको असपतालका सुचना अधिकृत डा नवराज गौतमलले जानकारी दिए । त्यस्तै, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा ५ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको अस्पतालका फोकल पर्सन डा जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

संक्रमित स्वास्थ्यकर्मीहरुको होम आइसोलेसन र अस्पतालमा उपचार भइरहेको छ । प्रायः संक्रमितहरुलाई ज्वरो आउने, शरीर घाँटी दुख्ने, रुघाखोकि लगायतका लक्षणहरु देखिएको छ । यसरी स्वास्थ्यकर्मीहरु नै संक्रमित हुन थालेपछि अस्पतालमा स्वास्थ्यकमीहरुको अभाव हुने देखिएको छ । अस्पतालमका स्वास्थ्यकर्मीह्रुको अभाव हुन नदिन सरकारले कदम चालिसकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले जानकारी दिए ।

डा. अधिकारीकाअनुसार सरकारले कोरोना संक्रमित बढेसँगै र अस्पतालमा स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेपछि स्वास्थ्यकर्मीको अभाव हुन नदिन रिक्त जनशक्तिको व्यवस्थापन एवं करारमा भर्ना भएका स्वास्थ्यकर्मीहरुको म्याद थपका लागि निर्देशन दिइसकेको छ ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोभिड १९ को रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरवन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यस्थापन गर्न अस्पताललाई निर्देशन दिएको डा अधिकारीले बताए । उनका अनुसार करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीको करार अवधि आवश्यकताअनुसार २०७८ माघ महिनादेखि बढीमा तीन महिनासम्म थप्ने व्यवस्था गरिएको छ । सरकारले आइतबारबाट कोरोना नियन्त्रणमा खटिएका फन्टनलाइनरलाई बुस्टर डोज दिने निर्णय गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply