कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

माघ १४, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) बस्दैछ । कोरोना संक्रमणको जोखिम बढेकाले पार्टी सभापति शेरबहादुर देउवाले बैठक भर्चुअल रुपमा बोलाएका छन् । बैठक दिउँसो ३ बजेपछि बस्नेछ ।

स्थानीय तहको निर्वाचनबारे सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै आलोचना भइरहँदा उनले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् । बैठकमा स्थानीय तहको निर्वाचन तथा बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा हुने जनाइएको छ ।

बैठकको आजको एजेन्डामा केन्द्रीय कार्यसम्पादन समिति गठनसमेत रहेको छ । पछिल्लो समय पार्टीका शीर्ष नेताहरुले नै सभापति देउवालाई केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि दबाब दिन थालेपछि सो विषयलाई बैठकको अजेण्डा बनाइएको हो ।

बिहीबार मात्रै उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर सो समिति गठन गर्न सुझाव दिएका थिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्य सहभागी हुनेछन् । भर्चुअल बैठकको लिंक एसएमएसमार्फत पठाइने मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Reply