सहकारीले पनि उद्योग खोल्न पाउने

बैशाख २, काठमाडौँ । नेपालमा सञ्चालित सहकारी संस्थाले अब उद्योग खोल्न पाउने भएका छन् । सरकारबाट अनुमति प्राप्त सहकारी संस्थाहरूले उद्योग खोल्न पाउने सम्बन्धी नयाँ व्यवस्था सरकारले गरेको छ ।

औद्योगिक व्यवसाय ऐनमा सहकारी संस्थालाई उद्योग खोल्न दिने व्यवस्था भए पनि नियमावली बन्न नसक्दा यो कार्यान्वयनमा आउन सकेको थिएन । सरकारले गत साता औद्योगिक व्यवसाय नियमावली राजपत्रमा प्रकाशित गरेसँगै अब सहकारी संस्थाहरूले पनि उद्योग खोल्ने बाटो खुलेको छ ।

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी चार प्रकारका सहकारी संस्थाले मात्र उद्योग खोल्न पाउने बताए। उनका अनुसार उत्पादक सहकारी संस्था वा संघ, उपभोक्ता सहकारी संस्था वा संघ, श्रमिक सहकारी संस्था वा संघ र बहुउद्देश्यीय सहकारी संस्था वा संघले मात्र उद्योग खोल्ने सुविधा पाउने छन् ।

यसबाहेक अन्य प्रयोजनका निमित्त दर्ता भएका सहकारीले भने आफ्नो क्षेत्राधिकारभित्र रहेर व्यावसायिक काम गर्नुपर्नेछ । बचत तथा ऋण सहकारी संस्थाले भने उद्योग खोल्न पाउने छैनन् भनेर नियमावलीमै स्पष्टसँग लेखिएकाले उनीहरुले उद्योग दर्ता गर्न नपाउने महानिर्देशक तिवारीले बताए ।

उद्योग दर्ता गर्न चाहने सहकारी संघ वा संस्थाले आवश्यक मापदण्ड पूरा गरेको हुनसपर्दछ । जसमा सहकारी संस्थाको साधारणसभाले उद्योग खोल्ने निर्णय गरेको हुनुपर्ने, उद्योग खोल्ने क्षेत्रको स्थानीय तहले स्वीकृति दिनुपर्ने लगायत रहेका छन् । यस्तै, नियमावली अनुसार सहकारी संस्थाको अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदन, सेयर सदस्यहरूको लगतसहितको विवरण, सहकारी संस्थाको विनियमको प्रतिलिपिलगायतका कागजात अनिवार्य रूपमा उद्योग विभागमा पेस गर्नुपर्नेछ ।

सहकारीमार्फत उद्योग सञ्चालनले स्वदेशी पुँजी परिचालन तथा कच्चा पदार्थको उपयोगिता र बजारीकरणको चक्र सहज रूपमा अघि बढ्ने तथा यसबाट ठूलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा सरकारको छ ।

संम्बन्धित समचार

Leave a Reply