छ महिनामा १० खर्बको आयात, व्यापार घाटा ४६.६४% बढ्यो

माघ ९, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६.६४ प्रतिशतले बढेर रु. आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ । निर्यात बढ्दै गए पनि आयात झन धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको हो । गत वर्षको सोही अवधिमा रु. छ खर्ब ४४ करोड ६१ लाखको व्यापार घाटा भएको थियो ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको भएको छ । गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार सात खर्ब २२ अर्ब ४५ करोड रुपैयाँको भएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५४.८६ प्रतिशतले बढी हो ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत बृद्धि भएको देखिन्छ । यस अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको मात्र निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९.१३ प्रतिशत र निर्यात ९५५.४८ प्रतिशतले बृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा रु छ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको आयात हुँदा नेपालले रु ६० अर्ब ७९ करोड ९२ लाखको निर्यात गरेको थियो ।

चालु आवको पहिलो छ महिनामा नेपालमा १४१ देशबाट रु. नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख मूल्य बारबरका विदेशी वस्तुको आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट सो अवधिमा रु. छ खर्ब तीन अर्ब ५४ करोड ५१ लाखको आयात भएको छ ।

भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट रु. एक अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख मूल्य बराबरका वस्तु आयात भएको छ । यसैगरी नेपालले चालु आर्थिक वर्षको पहिलो छ महिनामा भारततर्फ रु ९६ अर्ब ५६ करोड तथा चीनतर्फ रु ४५ करोड ६२ लाख ४७ हजार मूल्य बराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply