करिब १० करोड मूल्यबराबरको चार किलो नौ सय ग्राम हेरोइनसहित चारजना पक्राउ

असार १०, काठमाण्डौ । दक्षिण अफ्रिकी र भारतीय लागुऔषध कारोबारी गिरोहले काठमाडौंलाई अवैध कारोबारको अखडा बनाएका छन् । विभिन्न देश हुँदै हेरोइन नेपाल ल्याएर दक्षिण अफ्रिकी गिरोहले काठमाडौंमा भारतीयलाई बुझाउने गरेका छन् ।

करिब १० करोड मूल्यबराबरको चार किलो नौ सय ग्राम हेरोइनसहित प्रहरीले गिरोहका चारजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । दक्षिण अफ्रिकाबाट हेरोइन लिएर आएका तान्जानियन अब्दुल्लाह अबुलिकी र सो लागुऔषध लिन आएका भारतीय नागरिकद्वय मुनिम सिंह, विक्रमजित सिंहलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो । भारतीयहरूलाई सहयोग गर्ने वीरगन्जका बिक्की रौनियार पनि पक्राउ परेका छन् ।

ब्युरो प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार गत २ असारमा तान्जानियन नागरिक हेरोइन लिएर नेपाल आएका थिए । उनी बौद्धस्थित एक होटेलमा बसेकोमा भारतीय गिरोह लागुऔषध लिन सोही ठाउँमा पुगेको अवस्थामा पक्राउ परेका हुन् ।

हाल पक्राउ परेका तान्जानियन नागरिकले सुटकेसमा फल्सबटम बनाई त्यहाँभित्र हेरोइन लुकाएका थिए । पक्राउ परेका अब्दुल्लाह दक्षिण अफ्रिकाको जोहनसवर्गबाट दुबई हुँदै काठमाडौं आएका थिए । प्रारम्भिक अनुसन्धानमा उनी भरिया मात्र भएको खुलेको छ । दक्षिण अफ्रिकामा रहेको गिरोहले उनलाई नेपाल पठाएको प्रहरी अधिकारी बताउँछन् ।

संम्बन्धित समचार

Leave a Reply