निजामतीमा तहगत प्रणालीको तयारी

फागुन १०, काठमाडौँ । सरकारले नयाँ बन्ने सङ्घीय निजामती सेवा ऐनमार्फत सबै निजामती कर्मचारीलाई तहगत प्रणालीमा लैजाने भएको छ । सबै कर्मचारीलाई एउटै प्रणालीमा राख्ने गरी श्रेणीगत प्रणाली हटाएर तहगत प्रणाली बनाउन लागेको हो । अहिले सङ्घमा कार्यरत स्वास्थ्य सेवाबाहेक सबै कर्मचारी श्रेणीगत, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको तहगत प्रणाली कायम छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई एउटै वर्गमा राख्ने गरी श्रेणीगत प्रणालीलाई हटाएर तहगत प्रणालीमा राख्ने गृहकार्य भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

अहिले ऐन ल्याउनका लागि मन्त्रालयले विभिन्न सरोकारवालासँग छलफल गरी आएका सुझावलाई एकीकृत रूपमा मस्यौदा तयार गरिरहेको छ । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले ऐनको सन्दर्भमा मन्त्रालयले विभिन्न पक्षसँग छलफल गर्दा विभिन्न सुझाव आएको र टे«ड युनियनले तहगत प्रणालीमा नै जानका लागि अलि बढी सुझाव दिएको बताए ।

सबै कर्मचारीबीच एउटै प्रणाली राख्दा कुनै पनि कर्मचारीबीच विभेद भएको महसुस नहुने, कर्मचारीको मनोबल उच्च भई सेवा प्रवाहमा समेत गुणस्तरीयता आउने अपेक्षा मन्त्रालयले गरेको छ । अन्तर्राष्ट्रिय अभ्यास पनि तहगतमा नै भएकाले सरकारले ऐनमार्फत सबै कर्मचारीलाई तहगत प्रणालीमा लैजाने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले मन्त्रालयले आफूहरूसँग छलफल गर्दा तीनै तहमा कार्यरत कर्मचारीलाई तहगत प्रणालीमा नै जान सुझाव दिएको बताए । उनले भने, “सरकारले श्रेणीभित्र तहगत बनाउने गरी छलफल अगाडि बढाएको तर सबै कर्मचारी सङ्गठनले श्रेणी हटाएर तहगत प्रणाली बनाउन सुझाव दिएका छौँ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

संम्बन्धित समचार

Leave a Reply