निवर्तमान सभामुख महराविरुद्ध आज अभियोग पत्र दर्ता हुँदै

कार्तिक १४, काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महाराविरुद्ध बिहीबार अभियोग पत्र दर्ता हुँदैछ ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बलात्कार प्रयासको आरोप लगाएपछि प्रहरीले महरालाई गएको अशोज १९ गते पक्राउ गरेको थियो ।

अभियोग पत्र दर्ता पूर्व थुनामा राखी अनुसन्धान गर्न पाउने समय सीमा २५ दिन हो र सो समय सीमा बुधबार सकिएको छ । बिहीबार महरा पक्राउ परेको २६ औँ दिन हो र सरकारी वकिलको कार्यालय काठमाडौँले बिहीबार नै जिल्ला अदालत काठमाडौँमा महरा विरुद्ध बलात्कार प्रयास सम्बन्धी अभियोग पत्र दर्ता गर्ने तयारी गरेको छ ।

प्रहरीले तिहार अघि नै अनुसन्धान पूरा गरेर आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सोही अनुसन्धान पत्रको आधारमा सरकारी वकिलको कार्यालयले बिहीबार उनी विरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गर्न लागेको हो ।

अभियोग पत्र दर्ता भएपछि बिहीबार नै जिल्ला अदालतमा थुनछेक बहस हुने सम्भावना छ । सो बहसमा महरालाई थुनामै राखेर अनुसन्धान गर्ने या उनलाई रिहा गरेर अनुसन्धान अघि बढाउने भन्नेबारे पक्ष–विपक्षले बहस गर्ने छन् ।

जबरजस्ती करणी प्रयासमा दोषी ठहर भएमा सो अनुसार तथा सार्वजनिक पदमा रहेका बेला कर्मचारीमाथि बलात्कार प्रयास गरेकाले थप सजाय पनि हुनेछ ।

महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी हुन् । महराले आफूमाथि असोज १२ गते बलात्कारको प्रयास गरेको भन्दै आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएकी थिइन् ।

त्यसपछि महरालाई प्रहरीले असोज १९ गते बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो । महरामाथि बलात्कार प्रयासको आरोप लगाउने महिलाको भिडियो अन्तर्वार्तासहितको समाचार असोज १४ गते सार्वजनिक भएको थियो । आरोप अस्वीकार गरेका महराले असोज १५ गते सभामुखबाट राजीनामा दिएका थिए ।

तर पछिल्लो पटक पीडित भनिएकी महिलाले महराबाट आफूलाई कुनै किसिमको हिंसा नभएको भन्दै न्यायाधीशलाई निवेदन दिएकी छन् ।

संम्बन्धित समचार

Leave a Reply