२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस : एक महिनासम्म सचेतनामूलक कार्यक्रम हुने

पौष १४, काठमाण्डौँ । २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा देशभर एक महिने सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा गृह मन्त्रालयमा आइतबार बसेको राष्ट्रिय भूकम्प दिवस २०७६ मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको जनाईएको छ ।

बैठकमा गृहमन्त्री थापाले देशमा संघीयता कार्यान्वयन भइसकेको अवस्थामा देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारी सम्बन्धी देशव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीनै तहका सरकार मार्फत केन्द्र, जिल्ला, सबै स्थानीय तहमा सम्बन्धित विपद् व्यवस्थापन समितिको अग्ररसरतामा यो दिवस मनाउन लागिएको बताएका छन् । विगत एक वर्षको अवधिमा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा मुलुकले नीतिगत तथा कार्यक्रमगत तहमा गरेको प्रगतिको समीक्षा गरेर आगामी कार्यक्रम ठोस रूपमा तय गरिनुपर्नेमा उनले जोड दिए ।

देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरूको आदानप्रदान गर्दै नयाँ प्रविधि र उपायहरूको प्रभावकारी कार्यन्वयनका लागि प्रतिबद्धता जनाउने उद्देश्यले २०५५ सालदेखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक वर्ष २ माघलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

गृह सचिव प्रेमकुमार राईले यससम्बन्धी नीति निर्माण, कार्ययोजना तर्जुमा तथा कार्यान्वयन गर्ने अधिकार संघ, प्रदेश तथा स्थानीय सरकार सबैको भएकाले तीनवटै तहका सरकारको सहभागितामा यो दिवस मनाउने तयारी भएको जानकारी गराए । प्रदेश र स्थानीय तहका कार्यक्रम समेटेर २३ पुसभित्र कार्यक्रमलाई अन्तिम रूप दिइने उनले बताए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले एक महिनाभरि आयोजना हुने २५ वटा कार्यक्रमसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply