धादिङ गल्छीका वृद्धा सासू र न्यून दृष्टियुक्त बुहारी सहाराविहीन

पौष २४, धादिङ । साँघुरो कोठामा दुई वटा स–साना खाट । त्यसमाथि पातला ओड्ने ओछ्याउने । चिसोले बाहिर निस्कन समेत कठिन भएको बेला पातला लुगा लगाएर दिउँसो लाग्ने घामका पर्खाइमा बसेका मध्य धादिङको गल्छी गाउँपालिका–१ फोसटारका वृद्ध सासू र न्यून दृष्टियुक्त भएका बुहारी कष्टपूर्ण जीवन बिताइरहेका छन् ।

आफ्नो भन्ने मानिस गुमाइसकेका ७९ वर्षीया अमृतकुमारी अधिकारी र उहाँको बुहारी ५१ वर्षीया यमकुमारी चिसो र खानेकुराको अभावसँग सङ्घर्ष गरिरहेका छन् । अर्काको घरको आड लागेर बसेका ती सासू बुहारीको सहारा दिइने कोही पनि छैन । परिवारमा नाता पर्नेहरु सकिए । सम्पत्ति सकिएपछि अमृतकुमारी बुहारी च्यापेर धादिङको गजुरी गाउँपालिका–४ बाट २१ वर्षअघि बहिनीको घरमा आश्रय लिन आएकी थिइन् । गत जेठ महिनामा हृदयघातका कारण बहिनी अणकुमारीको मृत्यु भएपछि सहाराविहीन सासू बुहारी अब के खाने र कहाँ जाने भन्ने गन्तव्य हराएपछि विचल्लीमा परेको पीडितले बताए ।

आफ्नो श्रीमान् बितिसकेपछि घरको सम्पत्ति जम्मा रु दुई हजार र काखमा छोरा रेशमनाथ ९कृष्ण० लाई लिएर माइती घर गजुरी गाउँपालिका–५ सिमडाँडामा शरण लिन आइपुगेकी अमृतकुमारी आठ दिदी बहिनीमध्ये साहिली छोरी हुन अमृतकुमारी । आफ्नो जन्म दिने आमाबुबालाई पनि उनले नै स्याहार गरी छोरा नभएको महसुस गराइनन् । जन्म दिने बुबाको मृत्यु भएपछि २०४५ सालमा छोरा रेशमको मागी विवाह गरिदिएका थिए, यमकुमारीसँग । उनी जन्मजात नै आँखा देख्दैनन् ।

आमा र छोराले खेती किसान गर्थे भने जेनतेन खान पुगेको थियो । विसं २०५० मा पेट दुख्ने समस्याले छोरा रेशमको एक्कासि मृत्यु भएपछि यो परिवारलाई सहन नसक्ने बज्रपात पर्‍यो, त्यसपछि के गर्ने अन्योल भएको अवस्थामा बहिनी अणकुमारीको घरमा घरबारी रु ७० हजारमा बेचेर बसाई सरेर आएका थिए । फोस्टार आएपछि उनीहरु धनसारमा बस्न थाले भूकम्पले धन्सार भत्कियो । उनीहरुको कोही नभएकाले यो परिवारका लागि सरकारी अनुदानमा घर बनाउन कसैले बोलिदिएनन् । अहिले बहिनीसमेत गुमाएपछि सहारा हराएको वृद्ध सासू र न्यून दृष्टियुक्त भएका बुहारी सुन्दैमा आँशु आउने गरी बिचल्लीमा परेका छन् ।

स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिका लागि धेरै काम गरेको समाचार आइरहेको भए पनि न्यून दृष्टियुक्त अवस्थामा रहेकी यमकुमारीसँग सेतोछडीसमेत छैन । सरकारले हरेक महिना बुहारीलाई दिएको एकल महिला भत्ता रु दुई हजार र सासूलाई वृद्धभत्ता रु तीन हजार गरी जम्मा रु पाँच हजारले जति पुग्छ, त्यति खाएर बाचेको अमृतकुमारी बताउछन् ।

“अब त भात पकाएर बुहारीलाई खान दिन पनि नसक्ने भएँ, आँखा पनि धमिलो हुन थाल्यो अब केही उपाय छैन, साँझ बिहानमा पनि सुरक्षित नहुने भो, हामी एक्लो भयौँ” उनीहरु सहाराको खोजिमा भए पनि कहाँ जाने कसले हेर्ने भन्ने चिन्तामा छन् । “मर्न पनि सक्दैनौँ बाँच्ने सहारा पनि सकियो”, अमृतकुमारी बताउछिन् ।

“आमा नसक्ने हुनु भो, मलाई पकाएर खान दिने मान्छे पनि हुँदैन, फरियासमेत लगाइदिनुहुन्छ, म त आमा जहाँ गए त्यही जाने हो, आमालाई छोड्दिन”, बुहारी यमकुमारी भन्छिन् । सेतोछडीसमेत नभएकाले यमकुमारी खुट्टाले छामेर बाहिरभित्र गर्ने गर्छिन् ।

सङ्घीय सरकारले दिने भत्ताबाहेक वडाले केही गर्न नसकेको वडाध्यक्ष पूर्णप्रसाद खतिवडाले बताए । यो अवस्थामा रहेका मानिसको सुरक्षा र संरक्षण सरकारले गर्छ भनेर दिनदिनै समाचार आउँछन् । नेपालको संविधानको मौलिक हकले पनि संरक्षणको जिम्मा राज्यको हो भनिए पनि यो परिवार बेसाहारा बन्दासमेत सहयोग पाउन सकेका छैनन् । रासस

फोटो : सांकेतिक तस्विर

संम्बन्धित समचार

Leave a Reply