सङ्घसंस्थाहरुले बाँड्ने राहत नलिन कैलाश गाउँपालिकाको आग्रह

चैत्र २३, हेटौँडा । मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले विभिन्न सङ्घसंस्थाले वितरण गर्ने राहतलाई अस्वीकार गर्न स्थानीयवासीलाई अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष मोक्तानले लकडाउनको अवधिमा खाना नपाई कोही मर्न नदिने सरकारले योजना बनाइसकेकाले ढुक्क हुन अपिल गरेका छन् । “कसको घरमा चुलो बल्न बन्द हुनलाग्यो छातीमा हात राखेर नढाँटीकन स्थानीय सरकारलाई खबर दिई सहयोग गर्नुहोला हामी स्थानीय सरकारका प्रतिनिधि त्यहाँ पुग्छौ”, उनले भएका छन् । अध्यक्ष मोक्तानले गाउँघरमा थुप्रै रैथाने चिजबिजहरु खाएर समेत बाँच्न सकिने भन्दै पोका बाँडेर आफूलाई भगवान् बनाउन खोज्नेको राहत अस्वीकार गर्न अनुरोध गरेका छन् ।

मोक्तानले “गाउँमा खोले, सिस्नु, गिठ्ठा, भ्याकुर, कर्कलो, निउरो, टाकीको साग, कोइरालाको फूल, सिफ्लिगान, केराको बुङ्गो, वनतरुल, पिडालु, सिमलतरुल, पुतलीतरुल, चुइया र यस्तै अन्य नानाथरि प्रकृतिले उपलब्ध गराएको मौसमी चिजबिज खाएर बाँचिरहेका हामी नेपालीलाई वनमान्छे देख्ने र दयाको पात्र सम्झने आफूले आफूलाई भगवान् देखाउन सेतो चामलको बोरा बाँड्न आउनेहरुमाथि नै मनोदशारुपी कोभिड–१९ को भयानाक आक्रमण देखियो । मानवीयताको हिसाबले सहयोग गर्ने यतिखेर नै हो, हामी–हामीबीचमै सहयोग आदनप्रदान गर्न सकिन्छ, जे छ बाँडेर खाना सकिन्छ । यो सङ्कटको बेलामा वल्लोपल्लो घरबाट एैचोपैचो चलाउँ, जिउँदाको जन्ती मर्दाको मलामी तपाईं हामी नै हौँ ।”
स्वास्थ्य परीक्षणपछि घर फिर्ता

लकडाउन उल्लङ्घन गरी क्वारेन्टाइन पुर्‍याइएका २४ जना शनिबार घर पठाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, लिसङ्खुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल, सुरक्षा समितिले ग्रामीण महिला सिर्जनशीलमा रहेको क्षेत्रीय क्वारेन्टाइनबाट स्वास्थ्य जाँच गरी घर पठाइएको हो । उल्लङ्घनकर्तालाई सम्बन्धित वडाका अध्यक्षले नियमित स्वास्थ्य जाँच तथा सेल्फक्वारेन्टाइनमा बस्ने शर्तसहित जिम्मेवारी दिई पठाइएको जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए।

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

राजधानीका विभिन्न ठाउँमा पेशा व्यवसाय गरी बसेको प्रमाण जुटाई कोरोनासँग मिल्दो कुनै लक्षण नभेटिएको चिकित्सकको सिफारिसका आधारमा आ–आफ्नो घर पठाइएको तामाङले जानकारी दिए। उनीहरुलाई चैत्र २० गते लकडाउनको नियम मिचेर काठमाडौँबाट बाह्रबिसे जाँदै गर्दा तीन बलेरो पिकअपबाट नियन्त्रणमा लिई प्रहरीले क्वारेन्टाइन पुर्‍याएको थियो । २४ मध्ये एक जना चौतारा साँगाचोक गढी नगरपालिका, एक त्रिपुरा सुन्दरी गाउँपालिका र अधिकांश बाह्रबिसे नगरपालिकाका छन् ।

इन्द्रावतीले बनायो ५० लाखको कोष

कोरोना भाइरस सङ्क्रमण फैलन नदिनका लागि इन्द्रावती गाउँपालिकाले रु ५० लाखको कोरोना रोकथाम कोष बनाएको छ । कोरोना रोकथाम कोष नामाकरण गरी गाउँपालिकाले सङ्क्रमण फैलन नदिन रोकथाममा जुटेको हो ।

नेपालमा कोरोना सङ्क्रमण देखिनुअगावै गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश दिन थालेको थियो । कोष खडा गर्न यो रकम पर्याप्त नभएकाले सङ्घीय, प्रदेश र विभिन्न स्रोत जुटाएर कोषको शुरुआत गरिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए।

गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलालले विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि सङ्क्रमण फैलन नदिनका लागि पूर्वतयारीका लागि कोषको रकम खर्च गरिने जानकारी दिए। इन्द्रावतीले गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा पिपीइ, स्यनिटाइजर, मास्कलगायत सामग्री वितरण गरिसकेको छ ।

स्थानीयवासीको सहयोगमा अति विपन्नलाई राहत

इन्द्रावती गाउँपालिका–२ का स्थानीयवासीले वडाभरिका अतिविपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन् । समाजसेवी मोहन गिरीको अगुवाइमा इन्द्रावती साना किसान कृषि सहकारी संस्थाको सहयोगमा अतिविपन्न ७५ परिवारलाई सहयोग गरिएको हो । आज सहयोग वितरणको शुभारम्भ गर्दै सहकारीका अध्यक्ष रामशरण गिरीले दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई सहयोग गरिएको बताए।

मोहन गिरीले रु ५० हजार सहयोग गर्नुभएको छ भने हीराबहादुर गिरी तथा रामेछापका बलराम खड्कालगायतले सहयोग उपलब्ध गराएका छन् । अहिले ७५ परिवारलाई सहयोग गरे पनि आवश्यक परे अन्य परिवारलाई पनि सहयोग गर्न सकिने मोहन गिरीले जानकारी दिएकाा छन् । दैनिक ज्याला गरी छाक टार्न पर्ने परिवारका सदस्यले काम गर्न नपाउँदा समस्या भएको हुँदा ती परिवारलाई खाद्य सामग्री सहयोग गरिएको हो । चामल १५ केजी, दाल तेल, नुन, साबुन, चिनी चियापत्ती प्रदान गरिएको छ । रासस

संम्बन्धित समचार

Leave a Reply