हाजिर गर्दै ‘टाप’ कस्दै सरकारी कर्मचारी, ७० प्रतिशत कर्मचारीका कुर्सी रित्ता !

साउन २८, काठमाण्डौ ।  कोरोना संक्रमणका बेला सरकारी कर्मचारीहरु सुरक्षा प्रबन्ध गर्दै आम नागरिकको सेवामा लाग्नुको साटो हाजिर गर्दै ‘टाप’ कस्ने क्रम बढेको छ । अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा निकायका तल्लो तहका सदस्य भने ज्यान जोखिममा पारेर नागरिकको सेवामा लागेका छन् ।

संघीय सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदबारमा सोमबार र मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म स्थलगत अबलोकन गर्दा करिब ७० प्रतिशत कर्मचारीका कुर्सी रित्ता देखिए ।

संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकृतले नेपाल समाचारपत्रलाई भने ‘खाजा खाने समयभन्दा पछि त म पनि घर जाने हो, कोरोनाको जोखिम मलाई पनि छ नि ।’

कोरोना संक्रमणको जोखिम बढेकाले प्रहरीले सिंहदबार प्रवेशमा कडाइ गरेको छ । त्यससँगै तुलनात्मक रुपमा सुनसान देखिएको सिंहदरबारमा कर्मचारीहरु कार्यालय समयभन्दा ढिला आउने र चाँडै जाने गरेको पाइएको छ ।

स्थानीय र प्रदेशसंँगै संघीय सरकारको विभिन्न मन्त्रालयका कर्मचारीमा कोरोनाको संक्रमण देखिएकाले त्रास बढेको भन्दै कर्मचारीहरु मन्त्रालयमा बसेर काम गर्न खासै जाँगर नदेखाएको संघीय मामिलाका उच्च अधिकारीहरु बताउँछन् ।

आइतबार स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना देखिएपछि त्यसको त्रासले कोरोनाको जोखिम भन्दै कर्मचारीहरु काम गर्न खासै उत्साहित नदेखिएको संघीय मामिलाका उच्च अधिकारीहरु बताउँछन् । -नेपाल समाचारपत्र दैनिकबाट

संम्बन्धित समचार

Leave a Reply