एनआरएनएको पूर्वनिर्धारित विश्व सम्मेलन तथा निर्वाचन स्थगित

असोज २५, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । आइतबार भर्चुअल माध्यमबाट अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले निर्वाचन तथा महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो । तर प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटक सम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि संघको निर्वाचन तथा महाधिवेशन स्थगित गरेको हो ।

संघका प्रवक्ता डिबी क्षेत्रीले संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार बसेको बैठकले आगामी ६ महिनाभित्र निर्वाचन गर्ने गरि सो विश्व सम्मेलन स्थगित गरेको बताए । उनका अनुसार संघका विशेष परिस्थितिमा ६ महिना विश्व सम्मेलन सार्न सकिन प्रावधानअनुसार ६ महिनाभित्र निर्वाचन गर्नेगरी सम्मेलन सर्ने निर्णय भएको हो । अब परराष्ट्र मन्त्रालयलगायतसँग समन्वय गरी नयाँ मिति तय गरिनेछ ।

प्रतिनिधि चयनमा विवाद रहेको भन्दै एनआरएनएमा अध्यक्षका प्रत्यासी कूल आचार्य समूहबाट परराष्ट्रमा उजुरी परेको थियो । सो उजुरीपछि परराष्ट्रले दुई पटकसम्म एनआरएनएलाई पत्र काटेको थियो । पछिल्लो पत्रमा संघको विधान अनुरुप तोकिएको मितिमा महाधिवेशन नगर्ने अमेरिका, युके, पोर्चुगल, फ्रान्स, साइप्रस, डेनमार्क, ओमान लगायतका राष्ट्रिय समितिको वैधानिकतामाथि मन्त्रालयले प्रश्न उठाउँदै नयाँ निर्वाचन गर्न निर्देशन दिएको थियो । पत्रमा संघको कुनै राष्ट्रिय समितिमा विद्यार्थीहरु सदस्य बनेका छन् भने त्यसको पुनरावलोकन गर्नु भनिएको छ ।

सबै प्रक्रिया पुरा गरेरमात्रै निर्वाचन गर्न मन्त्रालयको निर्देशन छ । संघको संस्थापन समूहले परराष्ट्रले अनावश्यक हस्तक्षेप परेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ भने आचार्य समूहले धाँधली भएको विषयमा मन्त्रालयको हस्तक्षेप स्वाभाविक भएको जिकिर गर्दै आएको छ। एनआरएनएमा आचार्य र बद्री केसीका साथै रविना थापाले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

संम्बन्धित समचार

Leave a Reply