एनआरएनएको विवाद शेष घलेको टीमले मिलाउने

माघ २, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन)को अधिवेशनबारे विवाद मिलाउन उच्चस्तरीय समिति गठन गरिएको छ । निर्वाचन कार्यक्रम अघि बढाउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको हो ।

निर्वाचन महाधिवेशन प्रतिनिधि चयनलगायतको विवादका कारण संघको दशौं महाधिवेशन हुन सकेको छैन । संघको दशौँ महाधिवेशन तथा आईसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरूको विधानसम्मत निस्पक्ष ढंगले समाधान गर्ने भन्दै आईसीसीको शनिबार सम्पन्न ८१औँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

उच्चस्तरीय समितिका सदस्यहरूमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षकहरू देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन् ।

२८ फेब्रुअरीसम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली संघको विधान र नियमावलीअन्तर्गत रहेर २६ जनवरीसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने सहमति भएको छ ।

उच्चस्तरीय समितिले आवश्यक परेको खण्डमा कानूनी, आइटीलगायतका विशेषज्ञहरू रहेको स्वतन्त्र समितिहरू गठन गर्न अघिकार पाएको छ । संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले समेत उक्त समितिलाई सघाउने निर्णय भएपछि एनआरएनभित्र ‘ब्रेकथ्रु ‘ हुने संकेत देखिएको छ ।

संम्बन्धित समचार

Leave a Reply