साग: श्रीलंकालाई हराउँदै नेपाली महिला भलिबल टोली फाइनलमा प्रवेश

मंसिर १६, काठमाडौं । नेपालमा चलिरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा श्रीलंकालाई हराउँदै नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश गर्यो ।

यो उत्साह महिला भलिबल टिमका सदस्य र प्रशिक्षकमा मात्र सीमित भएन । बाइस वर्षको अन्तरालमा सिङ्गो देशले नै शिर उँचो राख्ने अवसर प्राप्त गर्यो । भलिबल नेपालको राष्ट्रिय खेल हो । पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपाल बाहिरिइसकेको छ । महिला भलिबल टोली देशको साख राख्न सफल बनेका छन् ।

शनिबार दशरथ रङ्गशालाको स्टेडियममा भलिबलको नेपाली महिला टोली उत्रियो । सेमिफाइनलमा प्रतिस्पर्धा गर्न श्रीलङ्काको महिला टोली पनि साथै उत्रियो । आफ्नै भूमि, आफ्नै दर्शक महिला टोलीमा ऊर्जा दोहोरो भरिएकै थियो । जब खेल सुरु भयो, तब नेपाल श्रीलङ्कामाथि हावी हुँदै गयो । रातको ७ः०० बजे सुरु भएको खेलको दुवै सेटमा नेपालले सहज जित हात पार्यो ।

बढ्दो मौसमी चिसोले खेलको तातो माहोलमा कुनै असर परेन । दर्शकको हुटिङ नेपाली टोलीलाई थप ऊर्जा भर्दै थियो । जितको अनिवार्य चाप महिला भलिबल टोलीको मस्तिष्कमा झन् बलियो बन्दै थियो । यही उतारचढावसँगै तेस्रो सेटको प्वाइन्ट गिन्ती सुरु भयो ।

‘हामी अब जसरी पनि जित पोल्टामा पार्नुपर्छ भन्ने दाउमा थियौँ,” नेपाली टोलीकी भलिबल सेटर अरुणा शाहीले भनिन्, ‘उनीहरू पनि निकै आक्रामक रूपमा प्रस्तुत भए । झन्डै हम्मेहम्मे जस्तो नै भयो नेपाली टोलीका लागि त्यो पल ।’

उनले भनेजस्तै दुई सेटमा हार बेहोरिसकेको श्रीलङ्का गर या मरको अवस्थामा उत्रियो । ‘उताको तीन जना खेलाडी निकै राम्रो प्रदर्शन गर्दै थिए,’ शाहीले त्यो पल सुनाइन् । तर म र हाम्रा स्ट्राइकरले अवसर दिएनौँ । अन्तिम सेटको १५ वा १६ प्वाइन्ट बटुल्दाताका दुवैतिर एक प्रकारको अन्तिम लडाइँ नै चल्यो ।

खेलको मुख्य स्ट्राइकरका रूपमा त्यो बेला सरस्वती चौधरी, प्रतिभा माली, रश्मी भण्डारी र सुनिता खड्का थिए । पछाडि एक जना लिबेरो थिए । सेटरको काम बल मिलाएर स्ट्राइकरलाई पास गर्ने हो । त्यसैले अरुणा कुन स्ट्राइकरले कहाँबाट बल सोझै पार गराउनसक्छ भन्नेमा चनाखो थिइन् ।

हरेक बल दिँदा निकै होसियारी अपनाउँदै थिइन् । खेलाडीले लय मिलाउन नसकेको अवस्थामा बाहिरबाट मनन् गरिरहेका अन्य खेलाडी साटफेर गर्ने मेसो श्रीलङ्काका टोलीमा निकै चल्यो तर नेपाली महिला टोलीका सामु श्रीलङ्काको कुनै जोर चलेन ।

‘अन्तिममा हाम्रो टोली नै ‘स्ट्रोङ’ सावित भयो,’ उनले जितको खुसी साट्दै भनिन्, ‘सुझबुझपूर्ण टिमवर्कले हामी गोल्ड मेडल नजिक पुग्यौँ ।’

झन्डै दुई घन्टा चलेको खेलमा नेपालले पहिलो सेटमा २५–१४, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा २५–२१ को अन्तर कायम गर्दै जित सुनिश्चित पा¥यो । यही अङ्कभारका आधारमा श्रीलंकालाई ३–० को सोझो सेटले पराजित गर्दै फाइनलको यात्रा तय गर्न सफल भयो । गाेरखापत्र दैनिकमा खबर छ ।

संम्बन्धित समचार

Leave a Reply