काठमाडौं–तराइमधेस द्रुतमार्ग आयोजनामा विकास समितिको चासो,समितिले अध्ययन गर्ने

चैत्र १०, काठमाण्डौ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराइमधेस द्रुतमार्ग आयोजनाका अनियमितता र उत्पन्न समस्या विषयमा संसद् विकास तथा प्रविधि समितिले अध्ययन गर्ने भएको छ । प्रतिनिधि सभा लेखा समितिले हाल द्रुतमार्ग दुई ठेक्कामा अनियमितता भएको आशंकामा कागजात झिकाएर अध्ययन गरिरहेको हो ।

संसद्कै विकास तथा प्रविधि समितिले पनि त्यहाँ देखिएका समस्या अध्ययन गर्न उपसमिति बनाएको छ । आयोजनाका २५ र २७ अर्बको दुई ठेक्का प्रक्रियामा अनियमितता भएको उजुरीपछि संसद् लेखा समितिले छानबिन गरिरहेको छ । लेखाले रक्षा मन्त्रालयसँग ठेक्का सम्बन्धित सबै कागजात मागेर विशेषज्ञमार्फत नै अध्ययन गरिरहेको हो ।

विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकले सांसद गणेश पहाडीको संयोजकत्वमा अध्ययन उपसमिति बनाएको छ । समितिमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य छन् । समितिलाई दुई महिनाभित्र आयोजनाबारे अध्ययन गर्न ‘म्याण्डेड’ दिइएको छ । समितिले द्रुतमार्ग निर्माणमा भएका ठेकेदार छनोट प्रक्रिया, खोकना मुआब्जा विवादलगायत निर्माणक्रममा देखिएका लापरबाही र समस्या अध्ययन गर्ने छ । समिति सदस्य लामाले तोकिएअनुसार काम भए नभएको समितिले हेर्ने बताए । उनका अनुसार द्रुतमार्गमा भएका समस्या विषयमा पनि समितिले समाधानका लागि सहजीकरण भूमिका निर्वाह गर्ने छ । ‘तोकिएअनुसार काम भए नभएको समितिले हेर्छ, आयोजनामा देखिएका समस्या विषयमा समाधानका लागि सहजीकरण भूमिका निर्वाह गर्छ,’ उपसमिति सदस्य लामाले भने ।

संम्बन्धित समचार

Leave a Reply