आज कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजा गरी दशैं समापन गरिँदै

कार्तिक ०२, काठमाडौं । नेपालीहरुको महान चाडँ दुर्गा पक्ष अर्थात् बडादशैं पर्व आज (मंगलबार) समापन हुँदै छ । आज धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित राति जाग्राम बसी कोजाग्रत पूर्णिमा मनाएसँगै यो वर्षको दशैं समापन हुन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा मनाएसँगै १५ दिन लामो दशैं सकिन्छ ।

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ । आजै घटस्थापनाको दिन विधिपूर्वक राखिएको जमरा नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई बताउँछन् ।

माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने बुधबार रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले बुधबार परेको हो । कार्तिक स्नान र आकाशदीपदान पनि बुधबारदेखि नै सुरु हुने समितिले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply