‘सरकारको भौतिक सम्पतिहरू निजी क्षेत्रलाई प्रयोग गर्न दिन्नौँ’: शिक्षामन्त्री पौडेल

माघ १६,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा रहेका सरकारको भौतिक सम्पतिहरू निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन् ।

आज आइतवार मन्त्री पौडेलले केशर महलको निरीक्षण गर्दै महल परिसरमा रहेको जमिन निजी क्षेत्रलाई प्रयोजनका लागि नदिने बताएका हुन् । उनले विभिन्न सञ्चारमाध्यममा केशर महलबाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचार प्रकाशित भएको भन्दै महलको निरीक्षण गरेको बताए । उनले सरकारी सरचनाहरू नियम विपरीत निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानुनअनुसार कारबाही गरिने उल्लेख गरे ।

मन्त्री पौडेलले भने, ‘केशर महल ऐतिहासिक स्थान हो, जतिबेला नेपालमा शिक्षाको विकास सुरु भयो त्यतिबेलादेखि नै केशर महल शिक्षासँग सम्बन्धित भवनको रूपमा छ । यहाँ भएका भौतिक वस्तुहरू खासगरी पुरातत्त्वसँग सम्बन्धित वस्तुहरूको सुरक्षाको कुरा, संरक्षणको कुरा, पुराना पुस्तकहरूको संरक्षण गर्ने कुरा अहिले मन्त्रालय मातहत भएको हुनाले यसको स्वरूप र प्रकृति हेर्न यहाँ आएँ । त्यसका साथै यसको बाहिरको जमिनको कुरालाई लिएर केही सामाजिक सञ्जाल, पत्रिकामा समाचार प्रकाशित भएको पनि जानकारी पायौँ । मन्त्रालय मातहतका निकायहरूले निजी क्षेत्रलाई निजी प्रयोजनका लागि बाहिरपट्टिको जमिन दिन खोजेको हो कि भन्ने आशयको कुराहरू आएको हुँदा यसमा मेरो पनि ध्यानाकर्षण भएर कुरा हो । कुनै निजी क्षेत्रलाई शिक्षा मन्त्रालय मातहतका यस प्रकारको भौतिक सम्पतिहरू प्रयोग गर्न दिइने छैन, दिइँदैन । कहीँ कतै भएको भए हामी राज्यको मातहतमा ल्याउने गरेर अघि बढ्छौँ ।’

संम्बन्धित समचार

Leave a Reply