एमसीसी परियोजनालाई पाँच वर्षभित्रमै सक्ने सरकारको लक्ष्य

फागुन १९,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई पाँच वर्षभित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।

आज बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासीन चार दलको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री कार्कीले यस्तो बताएका छन् । उनले पाँच वर्षभित्रमा झन्डै ३१५ मिटर प्रसारण लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर देशको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासलाई अघि बढाउनतर्फ सरकार रहेको बताए । उनले एमसीसी पास गर्न सहयोग गर्ने राजनीतिक दलहरूले अब एमसीसी समयमै सक्नका लागि पनि एकजुट भएर सहयोग गर्न आग्रह गरे ।

मन्त्री कार्कीले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग आग्रह गर्ने बताए । उनले आजको बैठक अबको विकसित राजनीतिक परिस्थितिको बारेमा सरकारको भूमिका र संसद् अवरोधका बारेमा छलफल केन्द्रित भएको बताए ।

मन्त्री कार्कीले बैठकमा नागरिक विधेयक, हवाई उड्डयन जस्ता विधेयकहरूको बारेमा पनि छलफल भएको जानकारी दिए । त्यस्तै आजको बैठकमा आउँदो आर्थिक वर्षको बजेटका विषयमा पनि छलफल भएको उनले बताए ।

मन्त्री कार्कीले यो गठबन्धन देशमा सुशासन, स्थायित्व र विकासका लागि बनेकाले अझै अघि बढ्ने बताए । उनले एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढेको भन्दै एमसीसीबाट जनतालाई रोजगार बनाउने बताए ।

संम्बन्धित समचार

Leave a Reply