निर्वाचन आयोगले चैत मसान्तमा मतदाता शिक्षा अभियान थाल्ने

चैत १७, काठमाडौँ । निर्वाचन आयोगले यही चैत मसान्तमा स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा अभियान थाल्ने भएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कसरी मतदान गर्ने भनी सन्देशमूलक प्रचारप्रसार चैत मसान्तबाट थाल्ने तयारी भएको जानकारी दिए ।

उनका अनुसार यसपटक मतदान शिक्षाका लागि घरदैलो अभियान नगरिने भएको छ । अडियो र भिडियोको माध्यमबाट मतदानसम्बन्धी सन्देश प्रवाह गरिने उनले बताए ।

‘पहिला भएको चुनावमा घरदैलो अभियान गर्दा अभियन्ताले कामै नगरी तलब भत्ता बुझेको भन्ने गुनासो आएपछि यस्तो अभियान हटाइएको हो, यसो गर्दा खर्च पनि बच्छ, अहिले त प्रत्येक घरमा शिक्षित व्यक्ति हुन्छन्, त्यसैले समस्या हुँदैन,’ उनले भने ।

उनका अनुसार भिडियो र अडियो सामग्री तयार भएपछि रेडियो, टेलिभिजनलगायत सञ्चारमाध्यमबाट प्रचारप्रसार गरिनेछ । ‘वैशाख २८ र २९ गते भने मतदान केन्द्रमा कर्मचारी खटाई कसरी भोट दिने भन्ने सिकाउँछौँ, जानकारी नहुनेले त्यहाँ सिक्छन्,’ उनले भने ।

उनले अझै दल दर्तालगायत प्रक्रिया नसकिएकोले मतपत्रको डिजाइन फाइनल हुन नसकेको जानकारी दिए । ‘अबको १र२ दिनमा नमूना मतपत्र छाप्न थाल्छौँ,’ उनले भने, ‘कति छाप्ने भन्ने पनि केही दिनमा टुंगो लाग्ने छ ।’

आगामी वैशाख ३० गते एकै चरणमा देशभरिका सबै स्थानीय तहको निर्वाचन हुँदै छ । आयोगका अनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्न पाउनेछन् ।

संम्बन्धित समचार

Leave a Reply