मर्स्याङ्दी र मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बिजुली पनि भारत निर्यात

जेठ २६, काठमाडौं । मर्स्याङ्दी र मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बिजुली पनि भारतमा बिक्री हुन थालेको छ । योसँगै नेपालबाट दैनिक साढे ७ करोडसम्मको बिजुली भारत निर्यात हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार मंगलबारबाट मर्स्याङ्दी र बिहीबारबाट मध्यमर्स्याङ्दीबाट उत्पादित बिजुलीले भारतीय ऊर्जा एक्स्चेन्ज बजारमा प्रवेश पाएको हो ।

बिहीबार मात्रै २८४ मेगावाट बिजुली भारत निर्यात हुनेछ । यो करिब ६८ लाख ३१ हजार ६०० युनिट बराबर हो । यसबाट नेपालले एक दिनमै ७ करोड ५२ लाखसम्म आम्दानी गर्नेछ । त्रिशुलीबाट २३, देवीघाटबाट १४.३९ मेगावाट, कालिगण्डकीबाट १३८.९१ मेगावाट मर्स्याङ्दीबाट ६६.१४ मेगावाट, मध्यमर्स्याङ्दीबाट ४१.८१ मेगावाट बिजुली भारत जानेछ । सोमबारका लागि भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा नेपालको बिजुलीले प्रतियुनिट अधिकतम् १२ भारु अर्थात् १९.२ रुपैयाँसम्म मूल्य पाएको प्राधिकरणले जनाएको छ । न्यूनतम् ४रुपैयाँमा पनि बिजुली निर्यात हुनेछ । औसतमा प्रतियुनिट ११.०२ नेपाली रुपैयाँमा निर्यात भइरहेको प्राधिकरणले जनाएको छ ।

भारतको ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ९६ वटा ब्लकमा बिजुलीको मूल्य बोलकबोलमा बिक्री हुन्छ । भारत सरकारले ती ब्लकमा अधिकतम् भारु १२ रुपैयाँसम्ममा किनबेच गर्न पाउने व्यवस्था छ । प्रत्येक ब्लकमा माग र आपूर्तिको दर अनुसार मूल्य फरक–फरक तय हुन्छ ।

संम्बन्धित समचार

Leave a Reply