ढुक्क हुनुस् आयोगले आमसञ्चार माध्यमको अनुगमन गर्ने धृष्टता कहिल्यै गर्दैन : थपलिया

आश्विन १४,काठमाडौँ । निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरितका काम भए/नभएको सम्बन्धमा अनुगमन गर्ने भएको छ । आयोगले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरुको अनुगमन गर्ने उद्देश्य राखेर प्रेस अफिसको स्थापना गरेर सामाजिक सञ्जालमार्फत आचारसंहिता विपरितका काम अनुगमन गर्ने भएको हो ।

शुक्रबार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ‘प्रेस अफिस’ को उद्घाटन गर्दै सो अफिसले सञ्चारमाध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न कामहरु गर्ने बताए । त्यस्तै निर्वाचनसँग सम्बन्धित कुराहरूको उत्पादन गर्दै डिजिटल माध्यम र आमसञ्चार माध्यमबाट सम्प्रेषण गरिने पनि उनको भनाइ छ ।

प्रमुख थपलियाले सामाजिक सञ्जाल र डिजिटल मिडियामार्फत राजनीतिक दल तथा उम्मेदवारहरूले आचारसंहिता विपरितका क्रियाकलाप गरेको विषयमा पनि प्रेस अफिसमार्फत अनुगमन हुने बताए । प्रमुख आयुक्त थपलियाले आयोगले आमसञ्चार माध्यमहरुको अनुगमन नगर्ने स्पष्ट पारे ।

यहाँ यदाकदा मैले सुनेको छु, कहाँ आमसञ्चार माध्यमको पो अनुगमन गर्न शुरु गरेछ आयोगले भनेर । हामीले त्यस्तो धृष्टता कहिल्यै गर्दैनौँ । तपाईहरु यसमा ढुक्क हुनुभए हुन्छ’, थपलियाले भने, ‘मलाई त के लाग्छ भने आमसञ्चार माध्यमको अनुगमन भनेको अरु कसैले गर्ने होइन, स्वयम् आमसञ्चार माध्यमले नै गर्ने हो । तपाइँले प्रवाह गरेको कुनैपनि विषयवस्तु कस्तो भइराखेको छ भनेर तपाईहरु आफैँले अनुगमन गरिरहनुभएको हुन्छ । तपाईको पाठकले गरिराखेको हुन्छ । त्यो नै सबैभन्दा गतिलो अनुगमन हो भन्ने हामीलाई लाग्दछ ।’ उनले आयोगले कस्ता कन्टेन्टहरु गइराखेका छन्, र ती कन्टेन्टहरुबाट समग्रमा निर्वाचनको व्यवस्थापनलाई कत्तिको सहजीकरण भएको छ भनेर सामान्य विश्लेषण आयोगले आन्तरिक रुपमा गर्ने प्रस्ट पारे ।

संम्बन्धित समचार

Leave a Reply