निरन्तर घट्दै कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा १८०१ जना संक्रमित थपिए

भाद्र ७,काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार नौ सय २४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

दैनिक विवरणअनुसार आज तेस्रो दिन पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी छ । पछिल्लो २४ घण्टामा एक हजार आठ सय एक जनामा सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय चार जानको पीसीआर र दुई हजार ६ सय २२ जनाको एन्टिजेन गरी ११ हजार तीन सय २६ जनाको नमुना परीक्षण गर्दा एक हजार आठ सय एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो परीक्षण गरिएका नमुनामा १५ दशमलव नौ प्रतिशत हो । पछिल्लो तीन दिन सङ्क्रमण दर पनि घटेको छ । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख २९ हजार चार सय ४३ पुगेको छ । यसमध्ये ८० हजार चार सय ६२ जनाको नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको हो । मन्त्रालयले एन्टिजेन विधिबाट भएका परीक्षणमा निको हुनेको सङ्ख्या देखाउने गरेको छैन ।

यही अवधिमा थप २४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार पाँच सय ३३ पुगेको छ । अहिले नेपालमा ३८ हजार तीन सय ५१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply