एमसीसी उपाध्यक्षसहितको टोली काठमाडौँमा

भदौ २४, काठमाडौँ । एमसीसी उपाध्यक्ष फातेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । भर्खरै मात्र कतार एयरको विमानबाट उनीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । बिहीबार बिहानदेखि काठमाडौँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

विमानस्थलमा सञ्चारकर्मीलाई प्रवेश गर्न दिइएको छैन । नेपालमा एमसीसीको विरोध चर्किरहेका बेला नेपाल भ्रमण आएपछि उनीहरुको सुरक्षालाई लिएर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललगायत राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ ।

काठमाडौं आउनुअघि बुधबार मात्रै उपाध्यक्ष सुमारले नेपालले पठाएको एमसिसीसँग सम्बन्धित प्रश्नबारे प्रष्टीकरण दिदै जवाफ पठाएको थियो ।

सरकारलाई पठाएको जवाफमा एमसिसीले नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको, बिनाअवरोध निर्धारित समयमा कार्यान्वयन होस् भनेर संसदबाट पारित गर्ने व्यवस्था राखिएको, एमसिसी सम्झौताभन्दा नेपालको संविधान माथि रहेको र परियोजनाका लागि प्रयोग हुने जग्गामा नेपाल सरकारको स्वामित्व कायम हुने बताएको छ ।

एमसिसीको जवाफमा यो सहयोग हिन्द-प्रशान्त रणनीतिअन्तर्गत नभएको र यो सम्झौता संशोधन हुन नसक्ने पनि बताएको छ ।

संम्बन्धित समचार

Leave a Reply