चालु छ महिनामा व्यापार घाटा ४६.६ प्रतिशतले बढ्यो

माघ २७, काठमाडौं । चालु आर्थिक बर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा  व्यापार घाटा आठ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । गत बर्ष सोही अवधिमा यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा निर्यातको तुलनामा आयात ११.९ प्रतिशत बढि हुन पुगेको छ । यस अवधिमा कुल आयात ५१.१ प्रतिशतले बढेर नौ खर्ब ९९ अर्ब ३४ करोड रुपियाँ पुगेको छ । अघिल्लो बर्ष सोही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो । यस अवधिमा भारतबाट भइरहेको आयातमा ३७.५ प्रतिशतले, चीनबाट भइरहेको आयातमा ५१.५ र अन्य मुलुकबाट भइरहेको आयातमा ९८.२ प्रतिशतले बढेको छ ।

भारतमा नेपालको सबैभन्दा ठूलो व्यापार निर्भरता छ । गत बर्ष चीनतर्फबाट खासै धेरै सामान नआएकाले यस बर्ष त्यसतर्फबाट भएको आयातमा केही बढी देखिएको हो । समीक्षा अवधिमा आयात वृद्धिमा सबैभन्दा ठूलो भूमिका पेट्रोलियम पदार्थले खेलेको छ । त्यस्तै, औषधि, पाम तेल, यातायातका साधन तथा पार्टपुर्जाको पनि ठूलै भूमिका छ ।

सोही अवधिमा कुल वस्तु निर्यात ९५.५ प्रतिशतले बढेर एक खर्ब १८ अर्ब ८५ करोड पुगेको छ । यद्यपि आयातमा उच्च वृद्धि भएकाले निर्यातमा वृद्धि हुँदा पनि यसको आकार न्यून छ । अघिल्लो बर्ष सोही अवधिमा यस्तो निर्यात ६.१ प्रतिशतले बढेको थियो । निर्यातको तुलनामा आयात उच्च भई नेपालको बैंकिङ क्षेत्रमा तरलता संकुचनको अवस्था सिर्जना भएपछि राष्ट्र बैंकले आयातमा केही कडाईसमेत गरेको अवस्था छ ।

यस्तै, चालू आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ५.५ प्रतिशत र अमेरिकी डलरमा ६.२ प्रतिशतले घटेको छ । बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई रु. ४६८ अर्ब ४५ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो ।

यस्तै, २०७८ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१८ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.१० प्रतिशत, ७.६७ प्रतिशत र ७.१४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १७.५१ प्रतिशत रहेको छ ।

संम्बन्धित समचार

Leave a Comment