निलम्बित गभर्नर अधिकारीको रिटमा पेसी तोकियो

बैशाख ६, काठमाडौँ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्न आज (मंगलबार) का लागि पेसी तोकिएको छ । गभर्नर अधिकारीको रिटको आज पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जनाकारी दिए ।

अधिकारीले गत आइतबार (वैशाख ५ गते) दायर गरेको रिट सर्वोच्च अदालतले सोमबार दर्ता गरेको थियो । अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै अर्थ मन्त्रालय, अर्थमन्त्री र सरकारले गठन गरेको छानबिन समितिलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

अधिकारीले रिटमा आफूमाथि गरिएको निलम्बन फुकुवा गरी पूर्ववत् कामकारबाही गर्न दिन अन्तरिम आदेशको माग गरेका गरेका छन् । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएमा अधिकारी काममा फर्किने छन् ।

सरकारले गत चैत २५ गते गभर्नर अधिकारीलाई अर्थतन्त्र ध्वस्त पारेको, कार्यक्षमता अभाव देखिएको आरोप लगाउँदै छानबिन गर्न समिति गठन गरेको हो । योसँगै उनको पद स्वतः निलम्बनमा परेको हो । अधिकारीलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिनालाई कार्यवाहक गभर्नरको अधिकार दिइएको छ ।

गभर्नरलाई पदमुक्त गर्नुअघि जाँचबुझ गर्न समिति गठन गर्नुपर्ने नेपाल राष्ट्र बैंक ऐन २०५८ मा व्यवस्था अनुसार सरकारले चैत २४ गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा डा। सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य छन्। सो समितिलाई एक महिनाभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ ।

समितिमा अर्थमन्त्री जनार्दन शर्माका नातेदार भण्डारी तथा थापा र पौडेल माओवादी कार्यकर्ता भएको भन्दै चर्को आलोचना भइरहेको छ । अर्थतन्त्र धराशायी भएको वेला सरकारले गभर्नर निलम्बन गरेको भन्दै पूर्व अर्थमन्त्री तथा अर्थविद्ले आपत्ति जनाएका छन् ।

संम्बन्धित समचार

Leave a Reply