पर्यटकका लागि अनलाइनमार्फत् रुट परमिट

फागुन १३,काठमाडौँ । अध्यागमन विभागले पर्यटकका लागि विद्युतीय माध्यम अर्थात् अनलाइनमार्फत् रुट परमिट दिन थालेको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउन अनलाइन ‘रुट परमिट’ लिनसक्ने व्यवस्था गरेको हो ।

विभागका निमित्त महानिर्देशक कृष्णबहादुर कटुवालले अनलाइनमार्फत परमिट खुला गरेसँगै लामो समय लगाएर प्राप्त गरिने प्रक्रियाको अन्त्य भएको बताए । अब पर्यटकले सहजै आफ्नो कम्पनी तथा व्यक्तिगत खाताबाट ‘क्यूआर पेमेन्ट’ गरी परमिट लिन सक्ने उनको भनाइ छ ।

निषेधित क्षेत्रमा जाने पर्यटकलाई यसअघि अध्यागमन विभागले कागजी प्रक्रियाबाट मात्र अनुमतिपत्र दिदै आएको थियो । अनलाइन रुट परमिट दिने व्यवस्था भएसँगै अब मुस्ताङको माथिल्लो भाग, डोल्पाको माथिल्लो भाग, गोरखाको मनास्लु क्षेत्रका चुम र नुव्री भ्याली, हुम्लाको सिमकोट, चङ्खेली र नाम्खा साथै ताप्लेजुङको कञ्चनजङ्गा क्षेत्र जाने पर्यटकलाई सहज हुने भएको छ ।

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले जति धेरै पर्यटकलाई सहजता दिन सक्यो त्यति नै धेरै पर्यटक नेपाल घुम्नका लागि आउने र अनलाइन सेवाले पर्यटन व्यवसायीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

संम्बन्धित समचार

Leave a Reply