मन्त्रालय फुटाएर जम्बो मन्त्रिपरिषद् विस्तारमा बाग्मतीका मुख्यमन्त्री

मंसिर १८, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन मन्त्रालय फुटाएर जम्बो मन्त्रिपरिषद् विस्तारमा लागेका छन् । कात्तिक ११ गते गठबन्धनबाट नेतृत्व गर्दै सत्तारोहण गरेका पाण्डेले सत्तारुढ गठबन्धन दलमा भागवण्डा मिलाउन मन्त्रालय फ्टाएर जम्बो मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

पाण्डेले हाल रहेको ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाउन लागेका छन् । मन्त्रालय फुटाउन लागेका मुख्यमन्त्री पाण्डेले मंसिर १५ गतेको मन्त्रिपरिषद् बैठकबाट निर्णय नै गराएर राजपत्रमा सूचना समेत प्रकाशन गराइसकेका छन् ।

राजपत्रमा प्रकाशित सूचनाका अनुसार बागमती प्रदेश सरकारले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ ।

त्यस्तैगरी सामाजिक विकास मन्त्रालय फुटाएर यूवा तथा खेलकुद मन्त्रालय बनाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाइने भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय बनाएको छ । यसअघि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले सामाजिक विकास मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रालय बनाएको थियो ।

उनले मन्त्रालय विभाजन गर्दा विरोध गरेको गठबन्धन दलहरुले नै अहिले भागवण्डा मिलाउन जम्बो मन्त्रिपरिषद् बनाउने भएका छन् । प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले साढे ३ वर्षसम्म ८ सदस्यीय मन्त्रिपरिषदबाट सरकार चलाएका थिए ।

गठबन्धनमा भागवण्डा मिलाउन जम्बो मन्त्रिपरिषद् बनाउन लागेका मुख्यमन्त्री पाण्डेले संसदीय समितिसमेत थप्ने तयारी गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply