टेलिकमको ब्राण्ड एम्बेसडरमा ‘मह’जोडी

मंसिर २९, काठमाडौं । नेपाल टेलिकमले महजोडीको नाममा परिचित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे । कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीहरुको सहभागीता रहेको सो कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले स्वागत गरेकी थिइन् ।

उक्त अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा गौरवान्वित महशुस गरेको बताए । उनले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको पनि उल्लेख गरे ।

कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको ब्राण्ड एम्बेसडर हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताए ।

यस सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्नेछन् । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको कम्पजीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply