नेपाल वेयरहाउजिङ कम्पनीको शेयरमा निफ्राको लगानी

बैशाख १६, काठमाडौँ । नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडसंग शेयर लगानी सम्झौता गरेको छ । निफ्राले उक्त कम्पनीको पाँच करोड रुपियाँ बराबरको पाँच लाख कित्ता साधारण शेयर खरिद गर्ने सम्झौता गरेको हो ।

कम्पनीको रजिष्टर्ड कार्यालय सिनामंगल काठमाडौँमा बिहीबार शेयर लगानी सम्झौता भएको हो । उक्त सम्झौतामा निफ्राका नायव महाप्रवन्धक सूर्यबहादुर तामाङ र नेपाल वेयरहाउजिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले हस्ताक्षर गरेका छन् ।

निफ्राले कम्पनीको कूल जारी पूँजी रु ६८ करोड ७५ लाखको ७.२७ प्रतिशत शेयर किनेको हो । कम्पनीले कूल जारी पूँजीको ८० प्रतिशतले हुन आउने रकम रु ५५ करोडको ५५ लाख कित्ता साधारण शेयर (आईपीओ) विभिन्न संस्थागत र व्यक्तिगत लगानीकर्तालाई विक्री गरेको छ भने वाँकी २० प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपियाँको १३ लाख ७५ हजार कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत बिक्री गर्ने तयारी गरिएको छ ।

कम्पनी ऐन, २०६३ वमोजिम २०७५ सालमा संस्थापित नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ ।

कम्पनीले देशका तीन महत्वपूर्ण स्थानहरु औरावनी, विरुवागुठी र वीरपुर क्रमशः सुनसरी, पर्सा र कपिलवस्तु जिल्लामा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

कम्पनीको सुनसरी इकाई कार्यालयबाट अन्न भण्डारण सेवा व्यवसाय सञ्चालनमा आइसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply