रिलायन्स स्पिनिङ मिल्सले ४ अर्ब ५० करोड लगानी थप गर्ने

बैशाख १, काठमाडौं । देशको सबैभन्दा ठूलो रिलायन्स स्पिनिङ मिल्सले उत्पादन क्षमता विस्तारको लागि ४ अर्ब ५० करोड रुपियाँ थप लगानी गर्ने भएको छ । मिल्सले विगत लामो समयदेखि ६ वटा उत्पादन इकाईमा स्पिनिङ धागो उत्पादन गर्दै आएकोमा थप दुई नयाँ उत्पादन प्लान्टका लागि ४ अर्ब ५० करोड रुपियाँ थप लगानी विस्तार गर्ने भएको हो ।

उद्योगले ६ वटा इकाईबाट वार्षिक करिव ५० मेट्रिकटन भन्दाबढी धागो उत्पादन गर्दै आएको छ । उद्योगले उत्पादन बढाउनको लागि दुई वटा ७ र ८ इकाई थप्न लागेको उद्योगका प्रबन्धक महेशकुमार पोखरेलले बताए । प्रबन्धक पोखरेलले रिलायन्स स्पिनिङ धागो उद्योगमा अहिलेसम्म १० अर्ब लगानी भइसकेको र दुई वटा नयाँ युनिट विस्तार गर्दा कूल लगानी १५ अर्ब ५० करोड पुग्ने जानकारी दिए ।

उनले नयाँ उत्पादन प्लान्टका लागि मेसिन तथा उपकरण उद्योगमा आउन थालेको बताए । अबको ६ महिनाभित्र दुई वटा नयाँ प्लान्ट निर्माण सम्पन्न गरेर उत्पादन गर्ने तयारीमा उद्योग रहेको पोखरेलले बताए । प्लान्टको जग निर्माणको काम करिव अन्तिम चरणमा पुगिसकेको छ । प्रबन्धक पोखरेलले उद्योगले उत्पादन विस्तारको लागि लगानी थप्दै लगे पनि उद्योगमा समस्या र चुनौतीहरु धेरै रहेको बताए ।

उनले कामदार, विद्युत, दिनप्रति दिन ढुवानी खर्च बढेकाले विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमा धागो उत्पादन गरेर विदेश निर्यात गर्न समस्या रहेको गुनासो गरे । प्रबन्धक पोखरेलले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्न जमिन, भवन, मिल, मिसिनरी, श्रमिक र बैंकको ब्याज सात देशको तुलनामा कम नभएको कारण उत्पादनमा लागतमा अत्याधिक वृद्धि भएको बताए ।

उनले नेपाल–भारत खुला सिमानाका कारण अवैध धागो चोरी निकासी तथा पैठारीको कारणले स्वदेशी कपडा उद्योग ध्वस्त भएसँगै स्थानीय विक्री वितरणमा समस्या रहेको बताए । धागो उद्योगको खपत हुने भनेको कपडा उद्योगहरु भएको भन्दै पोखरेलले रिलायन्स उद्योगको उद्देश्य उद्योगबाट उत्पादित धागो नेपालमा नै खपत गर्ने भएको बताए । प्रादेशिक र स्थानीय निकायको ऐन नियमका कारण तत्कालिन गाविस भएका अवस्थामा उद्योगका भवनहरु पुनःनक्सा पास गर्नु पर्ने चुनौती थपिएको गुनासो पोखरेलले गरे ।

त्यस्तै, रिलायन्स स्पिनिङ उद्योगका सञ्चालक शशिकान्त अग्रवालले पछिल्लो समय बैंकिङ प्रणालीमा देखिको तरलताले उद्योग सञ्चालन गर्न समस्या भएको बताए । उनले उद्योगमा उत्पादन प्लान्ट थप गर्नको लागि लगानी गर्न समेत समस्या देखिएको बताए । नेपालमा उद्योग खोल्नको लागि बैंकको कर्जाविना उद्योग चलाउन नसक्ने अवस्था रहेको भन्दा सञ्चालक अग्रवालले उद्योगको लागि ६ महिनालाई पुग्ने पुँजी स्टक राख्नु पर्ने दाबी गरे ।

उनले पछिल्लो समय बैंकहरुमा ६ महिनाको अवधिमा मात्रै ६ प्रतिशत रहेको बैंकको ब्याजदर बढेर १२ प्रतिशत पुग्दा लागत बढ्दै गएको बताए । सञ्चालक अग्रवालले धागो उत्पादनको लागि कच्चा पदार्थ नेपालमा नभएको बताए । कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने भएकाले बैंकको ब्याज सस्तो हुँदा सहुलियत भएता पनि बैंकको ब्याजदर वृद्धिले पछिल्लो दुईतीन वर्षमा फस्टाएका उद्योगहरु वृद्धिको गतिलाई रोक्न सक्ने दाबी गरे ।

रिलायन्स उद्योगको लागि नेपालमा कामदार पाउनको लागि समस्या रहेको उनको भनाई छ । रिलायन्स धागो उद्योगमा उत्पादन भएकाको धागो नेपालमा नै खपत हुने खालको सरकारले दीर्घकालिन नीति बनाउन माग गर्नु भयो । नेपालमा उत्पादन धागो खपत गराउनको लागि सरकारले भारत लगायतका देशबाट कपडा तथा गार्मेट उद्योगमा हुने चोरी पैठारी नियन्त्रण गर्नु पर्ने बताए ।

उद्योगमा उत्पादित धागो विदेशीमा निर्यात गर्ने हो भने नेपाली उत्पादनले विदेशीसँग प्रतिस्पर्धा गर्ने बनाउनु पर्ने सञ्चालक अग्रवालले बताए । नेपालबाट बंलादेशमा धागो सिधा निर्यात गर्न प्रतिबन्ध रहेकाले सरकारले बंगलादेशमा धागो निर्यात गर्नको लागि राजनीतिक पहल गरेर खुलाउन आग्रह गरे ।

उद्योग दिनको तीन सिफ्ट गरी ३ सय ६२ दिन २४ घण्टा चल्ने गर्छ । कम्पनीका उत्पादनमध्ये ६० प्रतिशत भारत र १५ प्रतिशत टर्कीलगायतका देशमा र बाँकी २५ प्रतिशत नेपालमा खपत हुने गरेको कम्पनीले बताएको छ । नेपालमा ऊनी धागोको करिब ८० प्रतिशत माग रिलायन्स कम्पनीले पूरा गर्ने गरेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकाको खनारमा रहेको मिलको पहिलो दुई प्लान्ट सन् १९९५ चैतमा स्थापना भई सन् १९९७ माघदेखि उत्पादन सुरु भएको थियो । रिलायन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ७९ करोड नाफा आर्जन गरेको थियो । नाफा आर्जनका आधारका कम्पनीका सबै कर्मचारीले गत वर्ष ४.२५ महिना तलब बराबरको बोनस पाएका छन् ।

उक्त उद्योग देशकै सबैभन्दा ठूलो रोजगारदाता भएको उद्योग हो । उद्योगमा अहिले ४ हजार नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिइएको छ । जसमध्ये १५५० महिला रहेका छन् । कम्पनीले थप उत्पादन विस्तारका लागि रकम जुटाउन सर्वसाधारणका लागि बुक बिल्डिङ प्रणालीमा साधरण शेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply